
काठमाडौं । चालु आर्थिक वर्षको ७ महिनामा मुलुकको वित्तीय अवस्था कसिलो भएको छ । बढ्दो चालू खाता घाटासँगै समग्र शोधनान्तर स्थिति ऋणात्मक रहेका कारण विदेशी मुद्रा सञ्चितीमा कमी आउदा वित्तीय अवस्था कसिलो भएको हो ।
आगामी दिनमा सरकारी खर्चमा आउने वृद्धिले विद्यमान वित्तीय अवस्थामा सुधार हुदै जाने अनुमान नेपाल राष्ट्र बैंकको छ । आयातमा वृद्धि र निकासीमा कमी भएपछि शोधानान्तरको अवस्था ऋणात्मक भएको छ । विदेशी विनिमय संचित २.८ प्रतिशत घटेर १० खर्ब ४० अर्ब २० करोड रुपैयाँमा सीमित भएको छ । गत असारमा १० खर्ब ७९ अर्ब ४३ करोड रुपैयाँ विदेशी विनिमय संचिती थियो । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.७ प्रतिशत रहेको छ ।
आर्थिक वर्ष २०७४/७५ को सात महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले ११.३ महिनाको वस्तु आयात र ९.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।