एनबी ग्रुपको अवरोधले एनसीसी बैंकको हकप्रद सेयर निष्कासन अन्यौलमा, असारसम्म चुक्तापुँजी ८ अर्ब नपुगे के हुन्छ ?

<p>काठमाडौं । एनबी ग्रुृपको विभिन्न विषय उठाएर  नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको हकप्रद सेयर निष्कासन अन्यौलमा परेको छ । एनबी ग्रुपका जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठले गत भदौ १६ गते सम्पन्न १९ औं वार्षिक साधारणसभा नै फर्जी भएको र सो सभाले गरेको निर्णय अवैध हुने दावी गर्दै त्यसलाई रोक्न नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्टार [&hellip;]</p>

काठमाडौं । एनबी ग्रुृपको विभिन्न विषय उठाएर  नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको हकप्रद सेयर निष्कासन अन्यौलमा परेको छ ।
एनबी ग्रुपका जीतबहादुर र लक्ष्मीबहादुर श्रेष्ठले गत भदौ १६ गते सम्पन्न १९ औं वार्षिक साधारणसभा नै फर्जी भएको र सो सभाले गरेको निर्णय अवैध हुने दावी गर्दै त्यसलाई रोक्न नेपाल धितोपत्र बोर्ड र कम्पनी रजिष्टार कार्यालयमा उजुरी दिएपछि एनसीसीको हकप्रद सेयर तत्काल निष्कासन नहुने अवस्था आएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार साधारणसभाले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो । आफु अनुकुल नभएपछि एनबी समूहले हकप्रद सेयर निष्कासन रोक्नका लागि बोर्ड र रजिष्टार कार्यलयमा उजुरी दिएको हो । एनसीसीमा एनबी समूहको १५ प्रतिशत अर्थात झण्डै ७५ लाख कित्ता संस्थापक सेयर छ ।

बोर्ड र रजिष्टार कार्यालयले हकप्रद निष्कासनका लागि बाटो खुला नगरेपछि पुँजीवृद्धिको योजना प्रभावित हुन लागेको हो । साधारणसभाबाट ५० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित भएपछि एनसीसीले गत मंसिर २० गते साविकका सेयरधनीलाई २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार कित्ता हकप्रद सेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । रजिष्टार कार्यालयले साधारणसभाले गरेको निर्णयलाई मान्यता नदिएमा हकप्रद सेयर निष्कासनको काम अघि बढ्दैन । पुनः अर्को साधारणसभा गर्नुपर्ने हुन्छ ।

उजुरी परेपछि विवरण पठाउन पत्रचार गरेकोमा बैंकले सबैकुरा सभाको विवरणमा उल्लेख भएको भनी पत्राचार गरेको कार्यालयकी रजिष्टार गीता होमगाइले बताइन् । उनले बैंकबाट साधारणसभाको विषयमा स्पष्ट जवाफ नआएको बताइन् । विकास न्युजसँग कुरा गर्दै होमगाइले यस विषयमा छानविन गर्न रजिष्टार कार्यालयले बैंकमा निरीक्षण टोली पठाउन लागेको जानकारी दिइन् ।

हकप्रद निष्कासन गर्ने साधारणसभाको निर्णयको विरुद्धमा एनबी ग्रुपले उजुरी हालेर रोकेपछि आउदो असारसम्म पनि चुक्तापुँजी ८ अर्ब रुपैयाँ नपुग्ने संभावना बढेको छ । एनबी ग्रुपले हकप्रद निष्कासन रोकेपछि बैंक सञ्चालक समितिले गत शुक्रबार नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवि नेपाललाई भेटी समस्या समधानको उपाय खोजी गरेको थियो ।

हकप्रद सेयर निष्कासन गर्न नपाएर एनसीसीको पुँजी वृद्धि प्रभावित हुने भएपछि छलफल थालेको राष्ट्र बैंकका प्रवत्ता नारायणप्रसाद पौडेलले बताए । यस विषयमा कसरी समस्या समाधान गर्ने भन्ने विषयमा नियमन र सुपरीवेक्षण विभागबीच छलफल भइरहेको उनले जानकारी दिए । उनले अहिले नै केही निर्णय नभएको बताएका छन् ।

एनसीसीको हाल चुक्तापुँजी ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ । इन्टरनेसनल डेभलपमेन्ट बैंक, एपेक्स डेभलपमेन्ट बैंक, इन्फाष्टक्चर डेभलपमेन्ट बैंक र सुप्रिम डेभलपमेन्ट बैंक गाभिएपछि चुक्तापुँजी बढेर ४ अर्ब ६७ करोड ९० रुपैयाँ पुगेको हो ।

हकप्रद निष्कासन र गत आवमा गरेको नाफाबाट सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर दिएर चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुर्याउने पुँजीवृद्धिको योजना बैंकले राष्ट्र बैंकले पेश गरेको छ ।

एनबी ग्रुपको ७० लाख कित्ता एनसीसीको संस्थापक सेयर बिक्री नभएपछि सो ग्रुपले ३५ करोड रुपैयाँ बढी हकप्रदमा लगानी गर्नुपर्ने छ ।

Share News