काठमाडौं । साताको पहिलो दिनकाे सेयर बजार करिब दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेको केही समय उकालो लागेको आइतबारको बजार त्यसपछिको कारोबारमा भने निरन्तर ओरालो लागेको छ । अन्ततः सो दिनको नेप्से परिसूचक बजार बन्द हुँदा ९.४० अंकले ओरालो लागेर १२७८ अंकमा झरेको छ ।
आइतबार कारोबारमा आएका सबै सूचकहरु राताम्मे भएका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक ७० अंकले ओरालो लागेको छ । त्यस्तै, फाइनान्स र अन्य समूह सामान्य अंकले झरेका छन् भने बाँकी समूहको सूचक दोहोरो अंकले घटेका छन् ।
बजारमा कुल १५२ कम्पनीको ३० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सो दिन सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको २ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस कम्पनीले सेयरधनीलाई ७० प्रतिशत लाभांश दिने भएपछि लगानीकर्ता यस कम्पनीमा आकर्षित भएका हुन् ।

त्यसैगरी, नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंकको पनि एकैदिन २ करोड ३२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । बैंकमा करिब डेढ अर्ब रुपैयाँ पैसा उठ्ने भएपछि लगानीकर्ताहरु यस कम्पनी प्रति झुम्एिका हुन् । रकम घोटला गरेको काण्ड पछि केही सेयरधनीहरुले डराएर सेयर बेच्न र बाठा लगानीकर्ताले सेयर किन्न थालेपछि यस कम्पनीको कारोबारमा वृद्धि भएको हो ।