काठमाडौं । सेयर बजार घटेका बेला १ सय रुपैयाँ अंकित मूल्यका हकप्रद सेयर पनि बिक्री हुन छाडेको छ । हकप्रद बिक्री नभएपछि दुई फाइनान्स कम्पनीले ४ लाख ५२ हजार ५१४ कित्ता सेयर लिलामीमा राखेका छन् ।

वेष्ट फाइनान्स कम्पनी लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडले बिक्री नभएको हकप्रद लिलामी गर्न लागेका हुन् । वेष्टले संस्थापक र सर्वसाधारण समूहतर्फ गरी १ लाख ८ हजार १४१ कित्ता लिलामी गर्न लागेको छ ।
यस्तै श्री इन्भेष्टमेन्टले ३ लाख ४४ हजार ३७३ कित्ता हकप्रद सेयर लिलामी गर्न लागेको हो । जसअनुसार संस्थापकतर्फ २ लाख ७७ हजार ९९६ र सर्वसाधारणतर्फ ६६ हजार ३७७ कित्ता रहेको छ ।
वेष्टले चैत ९ गतेदेखि बोलपत्र पेश गर्न भनेको छ । बोलपत्र पेश गर्ने अन्तिम मिति चैत १८ गतेलाई तोकिएको छ । यस्तै श्री इन्भेष्टमेन्टको बोलपत्र चैत ८ गतेदेखि खुला भई १६ गते अन्तिम दिन भनेको छ । दुबैं फाइनान्स कम्पनीले चुक्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गरेको हो । पछिल्लो समयमा संस्थापक हकप्रद नै बिक्री हुन छाडेको छ ।
सिभिल बैंकको बोलपत्र पेश गर्ने आज अन्तिम दिन
सिभिल बैंकको संस्थापक र सर्वसाधारण गरी ४२ लाख ३८ हजार ९५८ कित्ता हकप्रद सेयर लिलामीको मिति आज शुक्रबारसम्म तोकिएको छ । संस्थापक समूहतर्फ ३२ लाख ४४ हजार ६ र सर्वसाधारणतर्फ ९ लाख ९४ हजार ३५८ कित्ता हकप्रद सेयर बिक्री नभएपछि लिलामीमा राखिएको हो ।
बैंकले चुक्तापुँजी बढाएर ८ अर्ब रुपैयाँ पुर्याउन ४० प्रतिशत अर्थात २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद निष्कासन गरेको हो ।