काठमाडौं । सिउरी न्यादी पावर कम्पनी लिमिटेडले निर्माण गर्न लागेको ४० मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनामा ६ बैंकले ऋण लगानी गर्ने भएका छन् ।
एनएमबी बैंकको अगुवाइमा प्रभु बैंक, मेगा बैंक, सेञ्चुरी कमर्शियल बैंक, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंक र कुमारी बैंकले ५ अर्ब २५ करोड रुपैयाँ ऋण लगानी गर्ने भएका हुन् ।
आयोजनाको प्रवर्द्धक सिउरी न्यादी पावर बैंकबीच बुधबार लगानी सम्झौतामा हस्ताक्षर भएको छ । ७ अर्ब लगानीमा निर्माण हुने आयोजनामा ६ बैंकले ५ अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने छन् । यो कुल लगानीको ७५ प्रतिशत हो ।
१ अर्ब ७५ करोड स्वपुँजी लगानी हुने छ । ङाडी ग्रुप पावर कम्पनी लिमिटेड मुख्य प्रवर्द्धक रहनेछ । आयोजनाको गत जेठ १९ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ । आयोजना २०७७ सालभित्र सम्पन्न गर्ने लक्ष्य कम्पनीको छ । आयोजनाको बाँध तथा विद्युतगृह बाँहुनडाँडा गाविसमा निर्माण हुनेछ ।
आयोजनाबाट वार्षिक २३ करोड ५७ लाख युनिट बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत आयोजनास्थल बाहुनडाँडादेखि ११ किलोमिटर दूरीको तारी खुना १३२ केभी सबस्टेसनमा जोडिनेछ ।