काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तर्गत करदाता सेवा कार्यालय पुतली सडक, नयाँसडक लगायत कार्यालयले बक्यौता रकम उठाउन ताकेता सुरु गरेका छन्। विभिन्न शिर्षकमा कर नतिर्ने व्यक्ति तथा संस्थामाथी कार्यालयले १५ दिने अल्टिमेटम दिएको हो ।

अर्थमन्त्री युवराज खतिवाडाले राजस्व चुहावटमा कडाई गर्ने निती लिएसँगै कर कार्यालयहरुले कर असुलीका लागि ताकेता सुरु गरेका हुन् । करदाता सेवा कार्यालयले पटक-पटक टेलिफोन सम्पर्क र चिठ्ठीपत्र काट्दा पनि कर तिर्न कुनै प्रतिक्रिया नआपछि मंगलबार मात्रै १ सय ९१ व्यक्ति तथा संस्थामाथी ताकेता सुरु गरेको छ ।
करदाता सेवा कार्यालय नयाँसडकले मूल्य अभिवृद्धि कर नतिर्ने ६९ व्यक्ति तथा संस्थामाथी ताकेता थालेको हो । कार्यालयका अनुसार आजको (मंगलबार) १५ दिनभित्र कर दाखिला गर्न नआए आयकर ऐन २०५८ को दफा १०४ देखि १११ सम्मको कुनै प्रक्रिया वा मूअकर ऐन २०५२ को दफा २१(१) बमोजिम कारबाही प्रक्रिया अघि बढ्ने कार्यालयले जनाएको छ ।
करदाता सेवा कार्यलय, पुतलीसडकको पनि ताकेता
करदाता सेवा कार्यालय, पुतलीसडकले पनि आयकर र मूल्य अभिवृद्धि करको बक्यौता रकम उठाउन ताकेता सरु गरेको छ । कार्यालयका अनुसार १२२ व्यक्ति तथा संस्थामाथी ताकेता सुरु गरेको हो ।
कार्यालयले काष्ठपमण्डप बजार प्राइभेट लिमिटेड, हरिहर निर्माण सेवा लगायत १२२ व्यक्ति तथा संस्थामाथी ताकेता गरेको छ । यदि समयमै कर दाखिला गर्न नआएमा कानूनी प्रक्रिया अघि बढ्ने कार्यालयले जनाएको छ ।
यसअघि महालेखा नियन्त्रकको कार्यालयले ४० वर्ष अघिदेखिको अर्बौ रुपैयाँ वक्यौता नबुझाउने ११९ जना उद्योगी, व्यवसायी र कर्मचारीलाई बाँकी वक्यौता तिर्न ताकेता गरेको थियो ।