काठमाडौं । चीनले २७.२ किलोमिटर लामो पुरै (चक्रपथ)रिङ रोडलाई ८ लेनको बनाईदिने भएको छ । चीनले हाल कोटेश्वर–कलंकी खण्डको १०.३९ किलोमिटर रिङ रोड ८ लेन बनाउने काम अन्तिम चरणमा पुर्याईसकेको छ । चीन सरकारले आगामी १० बर्षभित्र करिब २५ अर्ब लगानी लगानी गरेर पुरै रिङ रोडलाई ८ लेनको बनाईदिन लागेको हो ।
चावहिल–गौशाला खण्डको १.५ किलोमिटर भने अण्डरपास वा फ्लाईओभर निर्माण हुनेछ । चीनले ३० को दशकमा २७.२ किलोमिटर चक्रपथ शतप्रतिशत सहयोगमा निर्माण गरिदिएको थियो । कलंकी–कोटेश्वरको सडक निर्माणका लागि ५ अर्ब लागेको थियो । दोश्रो चरणमा निर्माण हुन लागेको कलंकी–महाराजगञ्ज खण्ड निर्माणका लागि ६ अर्ब लाग्ने अनुमान गरिएको छ ।
तेश्रो चरणमा भने बाँकी रहेको ८.६१ किलोमिटर निर्माणका लागि भने करिब १२/१३ अर्ब लाग्ने अनुमान गरिएको सडक विभागको वैदेशिक सहायता महाशाखाका प्रमुख सञ्जय श्रेष्ठले बताए । चावहिल–गौशाला खण्डमा फ्लाई ओभर वा अण्डरपास र तीनकुनेदेखि जडिबुटीसम्म अण्डरपास निर्माण हुने भएकाले सो खण्डको लागत भने बढि हुने सम्भावना बढेको हो । ‘चक्रपथ पहिले पनि चीनले नै बनाईदिएको थियो, अहिले पनि चीनले शतप्रतिशत अनुदानमा बनाइदिन लागेको छ, पहिलो चरणमा अन्तिम अवस्था छ, अब दोश्रो चरण सुरु हुँदैछ, त्यसपछि तेश्रो चरण आरम्भ हुन्छ’, सडक विभागको वैदेशिक सहायता महाशाखा प्रमुख श्रेष्ठले भने ।
चक्रपथ विस्तार आयोजनाका प्रमुख प्रकाश भण्डारीले पनि चक्रपथ विस्तार अन्तर्गतको दोश्रो चरणको काम आगामी असोजदेखि अघि बढ्ने बताए । असारसम्म सडक विभागले कलंकीदेखि महाराजगञ्जसम्मको सडकमा रहेका तार, ढल र पोलहरु हटाईदिने छ । सो खण्डको डीपीआर समेत निर्माण भैसकेको भण्डारीले जानकारी दिए । सो खण्ड निर्माण आरम्भ गरेको ३.५ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य तय गरिएको पनि बताए । विस्तारित चक्रपथमा २५/२५ मिटरको सडक निर्माण हुनेछ । हालको चक्रपथमा १५ मिटरको कालोपत्रे गरिएको छ ।