काठमाडौं । राष्ट्रपतिको निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार यही फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि मौन अवधि शुरु भएपछि कुनै पनि उम्मेदवार र राजनीतिक दलले प्रचारप्रसार गर्न र मत माग्न पाउने छैनन् । यो आचारसंहिता सञ्चार माध्यमलाई पनि लाग्नेछ ।
सो पदका लागि वाम गठबन्धनको समर्थनमा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली काँग्रेसका कुमारी लक्ष्मी राईले उम्मेदवारी दिएकी छिन् । प्रतिनिधिसभा र प्रदेशसभाका सदस्य रहेको निर्वाचक मण्डलले सो पदमा मतदान गर्नेछ ।
आयोगले आज सो निर्वाचनको सञ्चालन र व्यवस्थापनका लागि मतदान अधिकृत र सम्बन्धित कर्मचारीलाई तालीम दिएको छ ।
यसैबीच, आयोगले अन्तिम मतदाता नामावलीमा समावेश नभएका निर्वाचक मण्डलका सदस्यले मतदान गर्न नपाउने स्पष्ट पारेको छ ।
नामावली प्रकाशित भइसकेपछि शपथ लिएका राष्ट्रियसभामा मनोनीत तीन सदस्यले मतदान गर्न पाउनुहुने छैन ।