काठमाडौं । १०८औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपालकै अग्रणी, सम्भवतः पहिलो महिला स्कुटर चालक कमला श्रेष्ठलाई सम्मान गरेको छ । ३० को दशकमै स्कुटर चलाएर महिला स्वतन्त्रताको आन्दोलनमा टेवा पुर्याउनुका साथै महिला उद्यमशिलताको विकासमा महत्वपूर्ण भूमिका खेलेकी श्रेष्ठलाई एमएडब्लुले यामाहा स्कुटर हस्तान्तरण गरेर सम्मान गरेको हो ।

राजधानीमा आयोजित कार्यक्रममा कमला श्रेष्ठले सुरुवाती दिनहरुमा स्कुटर चालकका रुपमा आफूले भोगेका अप्ठेरा र समस्याका बारेमा अनुभव बाँडेकी थिइन् । ‘थाइल्यान्ड बसाइको बेला त्यस्तो समस्या आएन तर नेपाल फर्केपछि भने विभिन्न समस्या आइलाग्यो । छोरीबेटीलाई स्कुल नै नपठाउने समयमा केटाहरुका अगाडी स्कुटर चढेर हिंड्नु कम्ता चुनौतीपूर्ण थिएन,’ उनले भनिन्, ‘समाजले राम्रो नजरले हेर्दैनथ्यो । जिस्क्याउनेदेखि हतोत्साहित गर्नेसम्मका मानिसहरु भेटिन्थे । तर घरपरिवारको साथ पाएको कारण लामो समयसम्म स्कुटर चलाएँ ।’
उनी हाल नेपाल उद्योग तथा वाणिज्य महासंघका कार्यकारी सदस्य, महिला उद्यमशिलता विकास कटिमीका अध्यक्ष र सौन्दर्य व्यवसायी संघ, नेपालकी अध्यक्ष छिन् । आफ्नो उद्यमशिलतालाई माथिलान स्कुटरको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ छ ।
श्रेष्ठलाई एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले स्कुटरको साँचो हस्तान्तरण गरेका थिए । कार्यक्रममा पोखरेलले विगतमा स्कुटरलाई महिला सवारीका रुपमा लिइए पनि आजभोलि आधा स्कुटर चालक पुरुष भएको बताए । ‘स्कुटरले महिला मात्र होइन पुरुषको पनि स्वतन्त्रता, आत्मविश्वास र सशक्तिकरणमा भूमिका खेलेको छ,’ उनले भने ।
यामाहाले आफ्नो ‘एसस्कुटर’ अभियान अन्तर्गत बुधबार नेपालमै पहिलो पटक ‘स्कुटर डे’ मनाएको थियो । यसै अवसरमा यामाहाले आफ्ना सर्भिस सेन्टरहरुबाट सबै ब्रान्डका स्कुटरलाई निशुल्क ‘वास’ गरिएको जनाइएको छ ।