काठमाडौं । मंगलबारको सेयर बजारमा तीब्र उतारचढाव भएको छ । बजार खुलेको १५ मिनेटमै ९ अंकले उकालो परिसूचक बीचमा फेरि ओरालो लागेर १२६७ अंकमा झरेको थियो । त्यसपछिको बजार पुन एक्कासी उकालो लागेर १३०५ अंकमा पुगेकोे थियो । बीचमा फेरि घटबढ भएर अन्तत बजार बन्द हुँदा नेप्से परिसूचक ८ दशमलब ७० अंकले उकालो लागेर १२९६ अंकमा पुगेको छ ।
बजारमा परिसूचक र कारोबार रकम दुबैमा सुधार आएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारलाई अनुत्पादक नभनेको स्पष्टीकरण दिएपछि लगानीकर्तामा उत्साहका साथै बजारमा सुधारको संकेत देखिएको हो ।
मंगलबार होटल र अन्य समूहको परिसूचक बाहेक बाँकी सबै समूहको सूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूह ३४ अंकले उकालो लागेको छ ।
आइतबार र सोमबार सेयर बजार ओरालो लाग्दा अर्थमन्त्री डा.युवराज खतिवडाको व्यापक आलोचना भएको थियो । अर्थमन्त्रीले सेयर बजारलाई अनुत्पादक क्षेत्र भनेको आरोप लगाउँदै उनैलाई बजार घट्नुको कारण भनिएको थियो । अर्थमन्त्री डा. खतिवडाले सेयर बजारलाई अनुत्पादक क्षेत्र नभएको स्पष्टिकरण नै दिएका थिए ।
दुई दिन अर्थमन्त्रीका कारण घटेको सेयर बजार तेश्रो दिन कुन जादुको छडिले बढयो ?