काठमाडौं । यामाहाले ७ मार्चलाई ‘स्कुटर डे’ (स्कुटर दिवस)का रुपमा मनाउने भएको छ । मानिसलाई स्वतन्त्र, आत्मविश्वासी र सशक्त बनाउन स्कुटरले पुर्याएको योगदानको कदर गर्दै यामाहाले उक्त दिवस मनाउन लागेको हो ।

‘स्कुटरले हामीलाई आरामदायी यात्रा मात्र होइन आत्मविश्वास पनि दिलाउँछ । त्यसैले सबैलाई मनपर्ने साधन स्कुटरको समपर्णमा हामीले स्कुटर डे मनाउने निर्णय गरेका हौं,’ एमएडब्लु इन्टरप्राइजेज यामाहा डिभिजनका मार्केटिङ हेड प्रदिप पोखरेलले भने ।
निशुल्क ‘स्कुटर वास’
स्कुटर डेका अवसरमा कम्पनीले देशभरि विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएको छ । जसमध्ये निशुल्क स्कुटर वास रहेको छ । स्कुटर डेमा राइडरहरुले यामाहाको कुनै पनि सर्भिस सेन्टरबाट जुनसुकै ब्रान्डको स्कुटर निशुल्क वास गर्न सक्नेछन् ।
ट्राफिकलाई दुई स्कुटर
‘स्कुटर डे’कै दिन आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले नेपाल ट्राफिक प्रहरीलाई दुई वटा यामाहा स्कुटर हस्तान्तरण गर्ने भएको छ । सो सानो सहयोगले काठमाडौंको ट्राफिक व्यवस्थापनमा थोरै भए पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ । त्यस्तै कम्पनीकाे अनुसार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा यामाहाले नेपालकै अग्रणी सम्भवत नेपालकै पहिलो स्कुटरचालक कमला श्रेष्ठलाई सम्मान गरेर स्कुटर हस्तान्तरण गर्ने कार्यक्रम समेत रहेको जानकारी दिएको छ ।