काठमाडौं । दोहोरो अंकले घटेको सोमबारको बजारमा २१ वटा कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ । जुन अघिल्लो दिनको तुलनामा १९ कम्पनीको सेयर मूल्यमा सुधार आएको छ । अघिल्लो दिन अर्थात आइतबारको बजारमा जम्मा २ कम्पनीको सेयर मूल्यमा सामान्य सुधार भएको थियो भने अन्य बाँकीकाे मूल्यमा गिरावट अाएकाे थियाे ।
सोमबार भएको कूल कारोबार मध्ये बाँकी १३२ कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । सो दिनको बजारमा कूल १५३ कम्पनीको कारोबार भएको थियो ।
सोमबार कमाउने १० उत्कृष्ट कम्पनी

बजारमा सबैभन्दा बढी सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले करिब १० प्रतिशत कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले आइतबार ३.९३ प्रतिशत कमाएका थिए भने सोमबार(आज) ९.९६ प्रतिशत कमाएका छन् । सोमबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १ हजार १९२ रुपैयाँ रहेको छ । जुन अघिल्लो दिनको तुलनामा १०८ रुपैयाँ बढी हो ।
त्यस्तै, विशाल बजार कम्पनीको सेयर मूल्य ४.८० प्रतिशतले बढेको छ । त्यसैगरी, पूर्णिमा विकास बैंकको ३.०३, एक्सेल डेभलपमेन्ट बैंकको २.९२ र गरिमा विकास बैंको सेयर मूल्य २.२५ प्रतिशतले बढेको छ ।
सोमबार सबैभन्दा बढी हिमालयन डिष्टीलरीको सेयर मूल्यमा गिरावट आएको छ । कम्पनीको सेयरको मूल्य ९.७५ प्रतिशतले घटेर प्रतिकित्ता ९२६ रुपैयाँमा झरेको छ । जुन रकम अघिल्लो दिनको तुलनामा १०० रुपैयाँ घटी हो । त्यसैगरी, मञ्जुश्री फाइनान्स, अपी पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था र एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले हिजोको भन्दा ७ प्रतिशत गुमाएका छन् ।