काठमाडौं । ग्लोबल आइएमई बैंकले सिराहा र धनुषा जिल्लाको विभिन्न स्थानमा थप ३ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिराहाको महानौरमा ७५ औँ, धनुषाको रतौली बजारमा ७६औँ र सोही जिल्लाकै फुलगामामा ७७औँ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको हो ।
महानौरमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय सिताराम महतो, धनुषाको रतौली बजारमा खोलिएको शाखारहित बैंकिङ्ग सेवाको लागि स्थानिय सुरेन्द्रकुमार मण्डल र उक्त जिल्लाकै फुलगामामा खोलिएका शाखारहित बैंकिङ्ग सेवाको लागि दिपेन्द्रप्रसाद शाहलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको बैंकले जनाएकाे छ ।
साथै, धनुषाको फुलगामामा खोलिएको शाखारहित बैंकिङ्ग सेवा उद्घाटन समारोहमा त्यस क्षेत्रका बासिन्दामा वित्तीय साक्षरता जगाउने उद्धेश्यले बैंकले “वित्तीय साक्षरता कार्यक्रम” पनि आयोजना गरेको थियो ।
उक्त वित्तीय साक्षरता कार्यक्रममा ग्लोबल आइएमई बैंकका “तालिम तथा बैंक विज्ञ” पुर्णमान नापितले उक्त क्षेत्रमा बसोबास गर्ने विद्यार्थी, व्यापारी, सरकारी तथा गैह्र सरकारी कर्मचारी, आमा समूह तथा अन्य स्थानीय बासीहरुलाई बैंक तथा वित्तिय संस्थाको आवश्यकता र औचित्यका बारेमा बारेमा जानकारी गराएका थिए । उक्त कार्यक्रममा १०० जना भन्दा बढीको उपस्थिति थियो ।