काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले राजश्व असुलीमा देखिएका समस्या समाधान गर्न भन्सार प्रमुखलाई निर्देशन दिएका छन् ।चालु आवको करिब चार महिना मात्र बाँकी हुँदा लक्ष्यअनुसार राजश्व असुली नभएपछि अर्थमन्त्री खतिवडाले देशभरका भन्सार प्रमुखलाई लक्षित प्रगति प्राप्त गर्न निर्देशन दिएका हुन्।

भन्सार विभागका अनुसार देशभर २३ वटा प्रमुख भन्सार कार्यालय र १४३ वटा कार्यालय छन् । सरकारको लक्ष्यअनुसार ती भन्सार विन्दुबाट भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्क तथा अत्य कर असुल गरिँदै आएको छ ।
भन्सारले कूल राजश्वको ४४ प्रतिशत तथा कर राजश्वको ५० प्रतिशत प्रतिनिधित्व गर्दछ । त्यसले गर्दा सरकारको लक्ष्य प्राप्त गर्न भन्सारको महत्वपूर्ण भूमिका हुँदै आएको छ ।
चालु आवको बजेटमा ७ खर्ब ३० अर्ब ५करोड रुपैयाँ राजश्व संकलनको लक्ष्य राखिएकोमा यस साताको बिहीबारसम्म ४ खर्ब ७ अर्ब अर्थात ५५.७८ प्रतिशतमात्र प्रगति भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
राजस्व असुलीमा देखिएको शिथिलताप्रति कडा निर्देशन दिँदै अर्थमन्त्री डा खतिवडाले भनेका छन् –“राजस्व जोखिम हुनेगरी कुनै काम कारबाही भएको पाइए शून्य सहनशीलता अपनाइनेछ ।” रासस