काठमाडौं । बैंकहरुले वचतको ब्याजदर नबढाउने आन्तरिक सहमति गरेका छन् । नेपाल बैंकर्स एसोसियसनको शुक्रबारको बैठकले मुद्दति र वचतबीचको ब्याजदर अन्तर १ प्रतिशत मात्र रहेको भन्दै यसलाई घटाउन आन्तरिक सहमति गरेका हुन् ।
केही महिनाअघि मुद्दति निक्षेपमा ११ प्रतिशत बढी ब्याज नदिने आन्तरिक सहमति गरेका बैंकर्सले वचतको ब्याजदर पनि ८ प्रतिशतमा सीमिति राख्ने सहमति गरेका हुन् । मुद्दति र वचतको ब्याजदर अन्तर धेरै कम भएपछि यसलाई स्थिर राख्ने सहमति भएको एसोसियसनका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले बताए ।
निक्षेप बढाउन बैंकहरुले वचतमा १० प्रतिशतसम्म ब्याज दिन थालेपछि बैंकर्स एसोसियसनले बैठक गरेर घटाउने निर्णय गरेको हो । आधिकांश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सम्मिलित बैठकले केही समयका लागि वचतको ब्याजदर ८ प्रतिशत नबढाउने र बढेको भएपनि घटाउने सहमति भएको ढुङानाले जानकारी दिए ।
लगानीयोग्य पुँजीको अभाव भएपछि बैंकले धमाधम वचतको ब्याजदर बढाउन थालेका हुन् । अधिकाँश बैंकको पुँजी, कर्जा र निक्षेप अनुपात ७८ प्रतिशत हारहारीमा रहेको छ । निक्षेप उठाउन नसक्दा केही बैंकले कर्जा लगानी बन्द समेत गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा १३ अर्ब रुपैयाँ हारहारीमा तरलता रहेको छ । तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले शुक्रबार ५ अर्ब रुपैयाँ बजारमा पठाएको छ ।