काठमाडौं । नेकपा(एमाले)का नेता रविन्द्र अधिकारीले आफूहरुले राजपा र फोरम नेपाल दुवैलाई सरकारमा ल्याउनेगरि पहल गरिरहेको स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता अधिकारीले वर्तमान सरकार सम्भव भएसम्म सबैलाई सरकारमा सहभागी गराउने गृहकार्यमा जुटिरहेको बताएका हुन् । उनले भने,‘राजनीतिक संक्रमण पनि सम्पन्न भएको छ, अब मुलुकलाई राजनीतिक स्थायत्वि र समृद्धिको यात्रामा अघि बढाउनको लागि पनि बलियो सरकार बनाउने पक्षमा हामी छौं ।’
अधिकारीले भने, ‘हामीले राजनीतिक स्थायित्व हाँसिल गर्नकै लागि वाम गठबन्धन बनाएर निर्वाचनमा गएका हौं, यो सँगै एकता प्रक्रिया अघि बढाएका छौं, सरकार बनाएका छौं, बलियो सरकार बनोस् भन्ने हाम्रो चाहना छ, हिमाल, पहाड र तराई सबैलाई मिलाएर अघि बढ्न चाहन्छौं, यसकोलागि राजपा र फोरमलाई सँगै लिएर जान चाहन्छौं, सकारात्मक कुराहरु भैरहेका छन् ।’
उनले आफूहरु संविधान संशोधनको लागि कहिल्यै पनि बाधक नभएको जिकिर गरे । यद्धपी उनले सबैलाई जायज लाग्ने विषयमा संविधान हुने स्पष्ट पारे । उनले थपे,‘हामीलाई मात्रै जायज लागेर हुँदैन, फोरमलाई मात्रै लागेर पनि हुँदैन, राजपालाई पनि लागेर हुँदैन, सबैलाई जायज लाग्नुपर्यो, अनि संविधान संशोधन गर्छौं।’ उनले संविधानको धारा २७४ संशोधन गर्न नसकिने स्पष्ट पारे ।
नेता अधिकारीले आउने आईतबार वा सोमबारसम्म मन्त्रिमण्डल विस्तार हुने जनाए । उनले भने,‘क्याविनेट विस्तार हुन्छ, अब आउने सोमबारसम्म भैसक्छ, राजपासँग पनि राम्रो कुराकानी भएको छ, राम्रो मात्रै होईन, धेरै राम्रो कुराकानी भएको छ, कुराकानीले आकार लिएपछि हामी पत्राचार गर्छौं ।’