काठमाडौं । भैरवास्थित विशेष आर्थिक क्षेत्र९सेज०मा सञ्चालन सम्झौता गरिएको १९ उद्योग मध्ये १० वटालाई खारेज गरिने भएको छ । समझदारी भएका उद्योगसँग विशेष आर्थिक क्षेत्र प्राधिकरणले पटक–पटक अनुमतिपत्र लिन ताकेता गरे पनि सम्पर्कमा नआएपछि खारेजी गर्न लागिएको हो ।

बुधबार मात्रै सेजले १० उद्योगलाई कारणसहित ७ दिन भित्रमा कार्यालयमा सम्पर्क राखि अनुमतिपत्र प्राप्त गर्न अनुरोध गरिएको छ । अन्यथा समझदारीपत्र ९एमओयू०मा हस्ताक्षर गरेका उद्योगी र लगानीकर्ताहरुसँग भएको समझदारीपत्र स्वतः खारेज भइ जाने प्राधिकरणले बताएको छ ।
२०७१ सालमै उद्घाटन गरिएको विशेष आर्थिक क्षेत्रमा उद्योग स्थापना तथा सञ्चालनार्थ समितिसँग समझदारी गरेका १९ उद्योग र लगानीकर्ता मध्ये ९ अर्थात ४७ प्रतिशत मात्रै सञ्चालनको लागि दर्ता भएका छन् भने बाँकी ५३ प्रतिशत उद्योगले सेजलाई पत्याएको देखिन्दैन ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणका प्रवक्ता सुन्दर थापाले चेतनशील मल्टिपर्पोज एग्रो, महेन्द्रकुमार गोयल, अरुनखोला बहुउद्देश्य, हुलास स्टील इण्डष्ट्रिज, श्यामकुमार लोहिया र बरुण लोहियाले अनुमतिपत्र लिनका लागि सम्पर्कमा नआएको बताए । इन्टरटेक पाइप्स एण्ड फीटीङ, हिमालयन एग्री–बिजनेश, एशियन थाइ फुड्स, मिनरल वाटर इण्डष्ट्रिज र इन्स्ट्यान्ट नुडल्स एण्ड एलाइड इण्डष्ट्रि पनि अनुमतिपत्र लिन सम्पर्कमा नआएको उनको भनाइ छ ।
‘प्राधिकरणले अनुमतिपत्र लिनका लागि माघ १० गतेदेखि लगातर १५ दिने सूचना दुई पल्ट निकाली सकेको छ,’ उनले भने ‘त्यसका लागि केही उद्योगहरुले दर्खास्त पेश गरेपनि अनुमति पत्रको लागि बुझाउन पर्ने दस्तुर २५ हजार रुपैयाँ दिएका छैनन् ।’
त्यस्तै उनले उद्योग सञ्चालनको लागि हालसम्म सेजमा आईडीएस इलेक्ट्रिक प्रालि, सुगम नानो हर्बल इन्डष्ट्रिज, किरण सुज म्यानुफ्याक्चर, जगदम्बा सिन्थेटीक्स प्रालि, ट्रान्स हिमालयन बेभरेज, सिद्धार्थ पेट प्लाष्ट, सिद्धार्थ पेट प्लाष्ट ९पीभीसी म्याट०, एक्सन पोलिमोर र सरोज श्रेष्ठ गार्मेण्टले सञ्चालनको लागि प्रमाणपत्र लिइ सकेको उनले जानकारी दिए ।
नयाँ उद्योगका लागि पुनः प्रस्ताव आह्वान गर्ने तयारी प्राधिकरणले गरिरहेको उनको भनाइ छ । ‘उक्त १० उद्योगको सम्झौता खारेजपछि करिब ३० हजार स्क्वायर मिटर प्लट खालि हुनेछ,’ उनले भने ‘त्यसका लागि ठूला उद्योगहरु पाइपलाईनमा छन् ।’ उनका अनुसार मुरारका, पञ्चकन्या लगायतका ग्रुपहरुले जग्गा मागिरहेका छन् ।
प्राधिकरणका अनुसार सेजभित्र सबै उद्योग सञ्चालनमा आउँदा ५ अर्ब रूपैयाँ लगानी हुनेछ । २ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने छन् । सञ्चालनको लागि अनुमति पाएको १ वर्षभित्र उद्योगले आफ्नो उत्पादन गरिसक्नु पर्ने प्रावधान छ । रूपन्देहीको रोहिणी गाउँपालिकामा ५२ विघा क्षेत्रफलमा रहेको सेजमा १४ सयदेखि ३७ सय बर्ग मिटरसम्मका ६९ ओटा प्लट रहेका छन् । सेजमा आवश्यक विद्युतको व्यवस्था गरिएको छ । साथै, बन्द हड्ताल गर्न प्रतिबन्ध लगाइएको छ ।
सेजमा सञ्चालन हुने उद्योगहरुले ७५ प्रतिशत उत्पादन निर्यात गर्नै पर्ने व्यवस्थाका कारण व्यापार घाटा कम हुने अपेक्षा गरिएको हो । मुलुकमा खर्बौँको व्यापार भइरहेको अवस्थामा सेजमा सेन्थेटिक, हर्बल, फलफूल प्रशोधन, गार्मेन्ट, जुत्ता, चाउचाउ लगायतका वस्तु उत्पादन हुने उद्योगहरु सञ्चालनमा आउन लागेको हो । ती उद्योगहरु सञ्चालन भएसँगै निर्यात बढ्ने विश्वास गरिएको छ ।