काठमाडौं । विभिन्न सामाजिक संघ–संस्थाहरुको आयोजनामा फागुन २४ गते ‘एनआईसी एशिया रक्तदानको लागि गिनिज विश्व रेकर्ड’को लागि बृहत्त रक्तदान कार्यक्रम हुने भएको छ ।

लायन्स क्लब काठमाडौं नेपाल तथा लायन्स क्लब काठमाडौं हिमचुलीले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उक्त कार्यक्रमको बारेमा जानकारी गराएको हो । काठमाडौंको टुडिँखेलमा आयोजना गरिने उक्त रक्तदान कार्यक्रमले नेपालको नाम विश्वसामु फैलाउन मद्दत पुग्ने आयोजकहरुले विश्वास लिएका छन् । लायन्स क्लब काठमाडौं नेपालका अध्यक्ष अखिल श्रेष्ठले नेपालको स्वास्थ संस्थामा विधमान् रगतको कमीलाई परिपूर्ति गर्न र नेपाललाई विश्वसामु चिनाउनको लागि उक्त कार्यक्रम गर्न लागेको जनाए ।
‘हामीले यो कार्यक्रम फागुन २४ गते राजधानीको टुडिँखेलमा आयोजना गर्दैछौँ, उनले कार्यक्रममा भने ‘करिब ३ हजार रक्तदाताहरुको उपस्थिति हुने हाम्रो अपेक्षा छ ।’ कार्यक्रममा १८ वर्ष पुगेका देखि ५५ वर्षसम्मका व्यक्तिले रक्तदान गर्नसक्ने उनको भनाइ छ ।
त्यस्तै उक्त रक्तदान कार्यक्रमका संयोजक हुकमराज लुईटेलले नेपाल र नेपालीको शरीरलाई विश्वसामु फेरि एकपटक उठाउनको लागि उक्त रक्तदान कार्यक्रमको आयोजना गरिन लागेको बताए । कार्यक्रममा नेपालका सामाजिक संघ–संस्थाहरुको सहभागीता रहने उनको भनाइ छ । कार्यक्रममा ग्रीन सिटी अस्पतालका निर्देशक एलबी टन्डनले ‘रक्तदान जीवन दान’ भएको भन्दै सबैलाई कार्यक्रममा भाग लिन आग्रह गरेका छन् ।