काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैक लिमिटेडले नवौं बर्ष पुरा गरी दशौं बर्षमा प्रवेश गरेको अवसरमा थप ४ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैकले शुक्रबारदेखि रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको बनकट्टी, मणिग्राम र बुटवल उपमहानगरपालिकाको बेलवास तथा सैनामैना नगरपालिकाको मुर्गियामा गरी उक्त ४ शाखा कार्यालयबाट सेवा सञ्चालन गरेको छ ।

बनकट्टी र मणिग्राम शाखा कार्यालयको नेपाल राष्ट्र बैक, सिद्धार्थनगर कार्यालयका निर्देशक अशोककुमार पौडेल, बेलवास शाखा कार्यालयको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुबेदी र मुर्गिया शाखा कार्यालयको सैनामैना नगरपालिकाका मेयर चित्रबहादुर कार्कीले उद्घाटन गरेका हुन् ।
उक्त कार्यक्रममा बैंकले २१ जना जेष्ठ नागरीकहरुलाई नगद र अभिनन्दन पत्र सहित सम्मान गरेको थियो । साथै, बैंकले १६ वटा आमा समुहसंग सीपमुलक तथा व्यवसायीक तालिम प्रदान गरि उद्यमी बनाउने सम्बन्धी समझदारीपत्र आदान प्रदान गरेको थियो ।
उक्त अवसरमा स्थानिय सामुदायीक विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नका लागि ५ विद्यालयहरुसंग समझदारीपत्रमा हस्ताक्षर गरी २१ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको थियो ।
साथै, ट्राफिक जनचेतना तथा दुर्घटना न्यूनीकरण र अनुगमनका लागी पश्चिम क्षेत्रिय ट्राफिक प्रहरी कार्यालयलाई ४ थान साइकल, रोड डिभाइडर र ट्राफिक जनचेतनामूलक बोर्डहरु प्रदान गरेको थियो । बनकट्टी स्थित टिकुलीगढ स्वास्थ्य चौकीलाई बेड र बिश्रामका लागि वेटिगं चेयर प्रदान गरेको थियो ।