काठमाडौं । सस्तो मूल्यमा किन्न खोजेपछि नेपाल खाद्य संस्थानले किसानबाट धान पाउन छाडेको छ । चालु आर्थिक बर्षमा २ लाख ७६ हजार क्वीटल धान खरिद गर्ने लक्ष्य राखेको संस्थानले अहिलेसम्म ९४ हजार ८४४ क्वीटल धान मात्रै खरिद गरेको छ ।

धान खरिद गर्ने समय घर्किनै लाग्दा समेत संस्थानले लक्ष्यको आधाभन्दा कम मात्रै धान खरिद गरेको हो । किसानसँग सिजनमा धान खरिद गर्ने र आवश्यकता अनुसार विभिन्न दुर्गम जिल्लाहरुमा बिक्री वितरण गर्ने जिम्मेवारी पाएको सरकारी स्वामित्वको खाद्य संस्थानलाई किसानले धान बेच्न किन नबेचेको ? भन्ने प्रश्न खडा भएको छ । तर, खाद्य संस्थानलाई किसानले नै नपत्याएको तथ्य उजार भएको छ ।
किसानलाई बजार मूल्य भन्दा प्रतिकिलो ४ रुपैंयाँ कम मूल्यमा धान बेच्न प्रस्ताव गरेपछि संस्थानलाई धान बेच्न किसान तयार नभएका हुन् । त्यस्तै विगतमा प्रशस्त मात्रामा अनौपचारिक बाटो हुदै भारतबाट भित्रिने गरेको धान आउन छोडेपछि संस्थानले धान खरिद गर्न नसकेको हो ।
यसको प्रत्यक्ष असर कर्णाली प्रदेशका दुर्गम जिल्लामा पुर्याउने खाद्यान्न ढुवानीमा पर्ने देखिएको छ । त्यसलाई सम्बोधन गर्न संस्थानले चामल किन्ने लगायतको तयारी गरिहेको जनाएको छ ।
संस्थानका प्रवक्ता शंकर सापकोटाले चालु आर्थिक वर्ष ६४ करोड रुपैयाँ बजेट विनियोजन गरी २ लाख ७६ हजार क्वीन्टल धान खरिद गर्ने लक्ष्य राखेको भएपनि हालसम्म ९४ हजार ८४४ क्वीटल मात्र खरिद भएको बताए । उनले भने, ‘अबको केही हप्तासम्ममा करिब १ लाख २५ हजार क्वीटल धान खरिद हुने अपेक्षा गरेका छौं ।’
सापकोटकाअनुसार बजारमा अस्वाभाविक रुपमा धानको मूल्य बढेको कारणले संस्थानले निर्धारण मूल्यमा धान खरिद गर्न नसकेको हो । ‘बजारमा संस्थाकोेभन्दा प्रतिकिलो ३÷४ रुपैयाँ बढी धानको मूल्य छ । त्यसलाई पच्छ्याउन सकिएको छैन,’ उनले थपे ‘त्यस्तै विगत बर्षहरुमा अनौपचारिक रुपमा निजी क्षेत्रले भारतबाट धान आयात गर्दै आएको थियो । अहिले त्यस्ता धान आउन सकेन । ’ भारतमा ‘जीएसटी’ प्रणाली लागु भएसँगै अनौपचारिक रुपमा भित्रिने धान मुलुकमा आउन नसेको हो ।
विभिन्न जिल्लामा संस्थानले धानको निर्धारित मूल्य पुनरावलोकन गरे पनि धानको खरिदमा सुधार आउन सकेको छैन । केही महिना अघिदेखि सुरु भएको धानको खरिदक्रममा संस्थानले निर्धारण गरेको मूल्यमा पुनरावलोकन गर्दै आएको छ । संस्थानका अनुसार पछिल्लो समय अञ्चल कार्यालय लहानबाट प्रतिक्वीटल २ हजार ३७५ मा खरिद गर्ने भनिएको धानको मूल्य बढाएर २ हजार ५१५ रुपैयाँ पुयाइएको छ ।
त्यस्तै जनकपुरमा २ हजार ४३० रुपैयाँमा खरिद गर्ने भनिएको धानको मूल्य बढाएर प्रतिक्वीटल २ हजार ६५० रुपैयाँ निर्धारण गरिएको छ । यो वर्ष संस्थानले आफ्नो विभिन्न शाखा, अञ्चल लगायतका कार्यालयहरुबाट एक हजारदेखि ५० हजार क्वीटलसम्म धान खरिद गर्न कोटा निर्धारण गरेको छ । जसमा सबैभन्दा कम संस्थनको शाखा कार्यालय जुम्लाको मार्सी धान १ क्वीटल रहेको छ ।
सबैभन्दा बढी अञ्चल कार्यालय लहानबाट ५० हजार क्वीटल जिरा मसिनो र ३० हजार क्वीटल सोना मंसुली चामल खरिद गर्ने कार्याक्रम रहेको छ । हालसम्म सबैभन्दा बढी अञ्चल कार्यालय धनगढीबाट ४४ हजार ५१७ क्वीटल र सबैभन्दा कम संस्थाको शाखा कार्यालय महेन्द्रनगरबाट १ हजार १८८ क्वीटल मात्र धान खरिद भएको संस्थानको प्रवक्ता सापकोटाले जानकारी दिए ।
संस्थानले गएको आर्थिक वर्ष समेत १ अर्ब ९ करोड रुपैयाँ बजेट विनियोजन गरी ४ लाख क्वीटल धान गरिद गर्ने लक्ष्य राखेकोमा २ लाख १८ हजार क्वीटल मात्र धान खरिद गर्न सकेको थियो ।