पाँचौँ नुवाकोट महोत्सवले यतिबेला नुवाकोट सदरमुकाम बेहुलीझैँ सिँगारिएको छ । फागुन १६ देखि २६ गतेसम्म चल्ने महोत्सवको तयारी अन्तिम चरणमा पुगिसकेको छ । महोत्सव मूल आयोजक समितिका संयोजक तथा नुवाकोट उद्योग वाणिज्य सङ्घका अध्यक्ष ताराबहादुर कार्की अहिले महोत्सव सफल पार्न सबैलाई महोत्सबमा सहभागी गराउन खटिरहेका छन् । नुवाकोट महोत्सवको तयारीको विविध पक्षबारे अध्यक्ष कार्कीसँग विकास न्युजले गरेको कुराकानीको सारअंश

ताराबहादुर कार्की
अध्यक्ष, नुवाकोट उद्योग वाणिज्य सङ्घ
पाँचौँ नुवाकोट महोत्सवको तयारी कस्तो हुँदै छ ?
पाँचौँ नुवाकोट महोत्सव सभ्य र भव्यताका साथ गर्र्ने अन्तिम तयारीमा जुटिरहेका छौँ । अहिले देशका उद्योगी–व्यवसायीकोे ध्यान नुवाकोटतिरै फर्किएको छ । यो महोत्सवलाई विगतको भन्दा परिणामुखी कसरी बनाउन सकिन्छ भनेर समुन्नत नुवाकोट निर्माणको अभियानमा व्यवसायी लागिरहेका छन् । २ सय ७० स्टल रहनेछन् । विदुर यतिबेला महोत्सवमय बनेको छ ।
नुवाकोट उद्योग वाणिज्य सङ्घ अहिले के गर्दै छ ?
नुवाकोट उद्योग वाणिज्य सङ्घ पाँचाँै नुवाकोट महोत्सवको तयारीमा जुटेको छ । ‘समृद्ध नुवाकोट हाम्रो अठोट’ भन्ने नाराका साथ नुवाकोट उद्योग वाणिज्य सङ्घ आगामी फागुन १६ देखि २६ गतेसम्म महोत्सवको तयारीमा लागेको छ । नुवाकोटलाई आर्थिक रूपमा समुन्नत बनाउने अभियानका क्रममा रहेको महोत्सवमार्फत हामी जिल्लामा लगानीको वातावरण र यहाँ रहेको कृषिजन्य उत्पादनलाई प्रचार गर्न लागेका छौँ । प्राकृतिक स्रोत र साधनको भरपूर उपयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता रहेको छ । सोहीअनुसार सरोकारवाला निकायसँग समन्वय गरिरहेका छौँ ।
नुवाकोटलाई आर्थिक रूपमा विकास गर्न सङ्घले के गर्दै आएको छ ?
जिल्लालाई आर्थिक रूपमा समुन्नत बनाउन सङ्घले अल्पकालीन र दीर्घकालीन योजना बनाएको छ । स–साना उद्योगलाई प्रवद्र्धन गरी उनीहरूलाई सक्षम र दिगो बनाउन अल्पकालीन योजना तयार पारिएको छ । जिल्लाबाहिरबाट ठूला लगानीकर्ता भित्र्याउन हामीले दीर्घकालीन योजना पनि बनाएका छौँ । त्यसका लागि हामी उद्योग वाणिज्य महासङ्घसँग समन्वय गरी आन्तरिक छलफल, साझेदारी, संयुक्त बैठक गरी प्रचार–प्रसारमा जुटिरहेका छौँ । नुवाकोटको कृषि उत्पादन पर्यटकीय क्षेत्र, जलविद्युत् आयोजना, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक क्षेत्रलाई पनि हामीले प्रचार–प्रसार गर्दै लगेका छौँ ।
ठोरी–केरुङ मार्ग सञ्चालनका लागि पदयात्रा गरी सकारात्मक सन्देश दिन सफल भएका छौँ भने अहिले त्यसलाई निरन्तर सञ्चालन गर्न सहयोग पुयाउँदै आएका छौँ । नुवाकोट जिल्ला पूर्ण रूपमा लोडसेडिङमुक्त छ भने राजनीतिक तथा स्वार्थी समूहको दवाबबाट मुक्त बनाएर लगानीलाई सुनिश्चित गराएका छौँ । नुवाकोट जलविद्युत् मात्र नभई सौर्य विद्युत् उत्पादनको पनि सम्भावना भएकाले यसको उत्पादन गराउन लागिरहेका छाैं।
सङ्घले आर्थिक क्षेत्रमा गरेका काम र आगामी लक्ष्य के हुन् ?
थोरै लगानीमा राम्रो नाफा लिन सक्ने ट्राउट माछालाई प्रवद्र्धन गर्न पासाङ ल्हामु हाइवेलाई ट्राउट हाइवेका रूपमा प्रचार गरेका छौँ । ट्राउट माछालाई सर्वसुलभ बनाउन जिल्लामा ट्राउट माछाका लागि दाना उद्योगको समेत स्थापना गरेका छौँ । उद्योग सञ्चालनमा आइसकेको छ । अहिले नुवाकोटमा १ अर्ब रुपैयाँ कुखुरापालनको क्षेत्रमा लगानी भएको छ । सानो अवस्थाबाट सुरु भएको ह्याचारीलाई पनि प्रवद्र्धन गर्न पोल्ट्री दाना उद्योगको निर्माण गरिँदै छ । जिल्लामा ठूला उद्योग भित्र्याउन देखिएका चुनौती बिस्तारै हट्दै गएका छन् ।
निजी क्षेत्रबाट जलविद्युत् क्षेत्रमा लगानी गर्ने क्रम बढेको छ । निजी क्षेत्र यसप्रति आकर्षित हुँदै गएको छ भने ५५ मेगावाटसम्मका गरी आधा दर्जन विद्युत् आयोजना निर्माणका क्रममा रहेका छन् । हामीले नुवाकोटमा लगानीमैत्री वातावरण छ भनी प्रचार गर्नुपर्ने अवस्था छ । विशेष आर्थिक क्षेत्र (सेज) स्थापनाका लागि छनोट गरी केन्द्रमा प्रक्रियाका लागि पठाइएकाले कार्यान्वयनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । एक गाउँ एक उत्पादन कार्यक्रममा विविधता खोजिरहेका छौँ ।
सरकारले पनि कृषि क्षेत्रलाई प्राथमिकता दिँदै जिल्लालाई आलु र तरकारीको पकेट क्षेत्र घोषणा गरेको छ । हामी यसको व्यावसायिक कार्यान्वयनमा लागिरहेका छाै। जिल्लामा विभिन्न निकायसँग समन्वय गरेर सोमबार कृषि हाटबजार सुरु गरेका छाँै । यसले जिल्लामा उत्पादित तरकारी, फलफूल, पशुजन्य, दुधजन्य र कृषिजन्य सामग्रीको बजारीकरणमा टेवा पुगिरहेको छ ।
जिल्लामा लगानीमैत्री वातावरण बनाउन तपार्इंहरूले के प्रयास गरिरहनुभएको छ ?
लगानी भित्र्याउन नुवाकोट उद्योग वाणिज्य सङ्घले समय–समयमा उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गरी सुझाब तथा गुनासा सङ्कलन गरी सम्बोधन गर्दै आएको छ । ठूला उद्योगका लागि सहज रूपमा पूर्वाधारको सुविधा पु¥याउन उनीहरूसँग हामीले समन्वय गरिरहेका छौँ । हामी उद्योगीहरूको छाता सङ्गठन भएकाले हाम्रो छातामा धेरैभन्दा धेरै लगानीकर्ता भित्र्याउन के गर्नुपर्छ, त्यो सबै गर्न तयार छौँ । हामीसँग अन्तर्राष्ट्रिय मार्ग छ । विद्युत् पर्याप्त छ भने यातायात र लगानीको वातावरण पनि सुनिश्चित छ । त्यही प्रचार गर्न र बुझाउन अनि लगानीकर्तालाई भित्र्याउन पदाधिकारीहरू क्रियाशील छाैं।
नुवाकोटलाई हरेक दृष्टिले सक्षम बनाउन के गर्नुपर्छ ?
हामी नुवाकोटलाई आर्थिक रूपले मात्र नभई सामाजिक र सांस्कृतिक रूपले पनि सक्षम बनाउन लागिपरेका छौँ । मुलुकमा नयाँ संविधान कार्यान्वयन भई संघीय संरचनाअनुसार अगाडि बढिरहेको छ । नुवाकोटलाई ३ नम्बर प्रदेशको राजधानी बनाउँदै समुन्नत गराउने लक्ष्य राखेका छौँ । अबको १० वर्षमा हामीले जिल्लामा कम्तीमा ५० हजार युवालाई रोजगारीको अवसर दिने योजना बनाएका छौँ । त्यसका लागि हामी निजी क्षेत्रबाट जलविद्युत्, सौर्य विद्युत् लगानीलाई क्रान्तिका रूपमा लिएका छौँ ।
सेज कार्यान्वयनका लागि जिल्लाको रातमाटे र पीपलटारलाई प्रस्ताव गरेका छौँ । नुवाकोटदेखि काठमाडाैंसम्म सुरुङमार्ग बनाउन सरकारलाई हामीले नैतिक दबाब दिइरहेका छौँ । जिल्लामा अहिले केन्द्रीय कारागार निर्माणको चरण छ । गत वर्ष सरकारले घोषणा गरेको इन्धन भण्डारण केन्द्र निर्माण र मध्यपहाडी लोकमार्ग सञ्चालनका लागि सहज वातावरण बनाउने प्रयास गरिरहेका छौँ । यी सबै योजना पूरा भएमा नुवाकोट हरेक दृष्टिले सक्षम हुन्छ भन्ने विश्वास हामीले लिएका छौँ । नुवाकोट उत्तरदक्षिण राजमार्गको
केन्द्रबिन्दुमा रहेको छ । त्रिदेशीय र मध्यपहाडी लोकमार्ग बीचभागबाट गएको छ । जसले गर्दा नुवाकोटमा यातायातको सुविधा छ । यहाँ उद्योग खोल्न आवश्यक कच्चा पदार्थ, उपकरण र उत्पादित सामग्री ल्याउन र लैजान सहज भएकोले उद्योगी व्यवसायीको रोजाइमा नुवाकोट परेको छ । उद्योग–व्यवसायका लागि अति आवश्यक पानी, जमिन, विद्युत्, जनशक्ति सहज रूपमा उपलब्ध छ ।
विगतको महोत्सवभन्दा यो महोत्सव के भिन्न हुन्छ ?
यो महोत्सवले जिल्लामा रहेका विभिन्न धर्म, संस्कृति, कृषि उत्पादनको प्रदर्शनीलाई मुख्य प्राथमिकतामा राखेको छ । विगत महोत्सवहरूको अनुभव र प्राप्त सल्लाह र सुझाबलाई यसपटक हामी मार्गनिर्देशनका रूपमा लिएर तयारीमा जुटिरहेका छौँ । जिल्लाको उत्पादनलाई प्रदर्शनी र बिक्रीका लागि हामीले अवस्था हेरेर निःशुल्क र सशुल्क स्टल उपलब्ध गराउँछाँै । जिल्लाको पर्यटकीय सम्भावनाहरूलाई उजागर गर्नेतर्फ पनि हामीले ध्यान दिनेछौँ ।
जिल्लालाई औद्योगिक करिडोरको रूपमा विकास गर्ने उद्देश्यका साथ नुवाकोट उद्योग वाणिज्य सङ्घ लागेको छ । जिल्लाका पौरखी हातहरूका सीप र सिर्जनाबाट उत्पादित–निर्मित सामग्रीको बृहत् प्रदर्शनी गराउनेछाैं । जिल्लाको मौलिक सांस्कृतिक बालनभजन, लाखेनाच, तामाङ म्हेन्दोमाया नाच, मगरको सोरठीलगायत गोरु जुधाउने प्रतियोगिता र रेस्लिङ खेल गराउन लागिरहेका छौँ । पहिलो महोत्सवमा सक्रिय विभिन्न व्यक्तित्वहरू र जिल्लाको आर्थिक, सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पु¥याउनेहरूलाई समेत विशेष सम्मान गर्ने कार्यक्रम रहेको छ ।
यस वर्षको महोत्सवमा कति कारोबार हुने अपेक्षा गर्नुभएको छ ?
महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा हामीले राखेका छौँ । यो ११ दिनको भएकाले सो अवधिमा ५ देखि ७ करोड कारोबार हुने लक्ष्य लिएका छौँ । सङ्घका नयाँ सदस्यलाई दुईवटा टिकट र नवीकरण गरेका सदस्यलाई तीनवटा टिकट निःशुल्क उपलब्ध गराउँछाँै । यसपटक हामीले टिकटबाट भ्याट रकम उठाउने भएका छाैं।