काठमाडौं । लगानीकर्ताको आर्कषण घटेका बेला २ बैंकले १ अर्ब ७० करोड रुपैयाँ बराबरको सामूहिक लगानीकोष (म्यूचल फण्ड) निष्कासन गर्न लागेका छन् ।

ग्लोबल आईएमई बैंकले ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ नेपाल इन्भेष्टमेन्ट बैंकले र एनआईबीएल सहभागिता फण्ड निष्कास गर्न लागेका हुन् । दुई कम्पनीले प्रति इकाई १० रुपैयाँका दरले कुल १७ करोड इकाई निष्कासन गर्ने प्रक्रिया अघि बढाएका छन् । दुबैले निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । बोर्डले अनुमति दिए पश्चात बजारमा यी दुई कम्पनीले म्यूचल फण्डको बिक्री गर्ने छन् । दुबै बैंकले फण्ड निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ ले १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई निष्काशन गर्न लागेको छ । ग्लोबल आइएमई क्यापिटल ब्यालेन्स फण्ड निष्कासन हुन लागेको छ । त्यस्तै, एनआइबिएल सहभागिता फण्डको ५० करोड रुपैयाँ बरारबको ५ करोड इकाई बजारमा आउँदै छ । यस फण्डले पनि बोर्डको अनुमति पाए पश्चात एनआईबिएल क्यापिटल मार्फत सो मात्राको म्यूचल फण्ड जारी गर्ने छ ।
यसअघि निष्कासन गरिएका म्युचल फण्डको बिक्री राम्रो नभएपछि थप निष्कासन हुन लागेका दुई कम्पनीको फण्ड पनि बिक्री नहुने संभावना देखिएको छ । गत वर्ष निष्कासन भएको ग्लोबल, एनएमबी र नविलको म्युचल फण्डको खुदसम्पत्ति (नेटवर्थ) नै ऋणात्मक भएपछि यसको असर बजारमा परेको हो ।
निष्कासन भएका म्युचअल फण्डको अवस्था राम्रो नदेखिएपछि यसको असर नयाँ निष्कासन गर्नेलाई परेको सीआईबीएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समीरप्रसाद दाहाल बताउछन् ।
“यसअघिका म्युचल फण्डको प्रगति राम्रो भए लगानीकर्तामा सकरात्मक सन्देश जाने थियो” उनले भने “पहिलाको फण्डको खराब नतिजाले नयाँमा लगानीकर्ताको आकर्षण नबढेको हो ।”१ अर्ब रुपैयाँका सिटिजन्स म्युचल फण्ड निष्कासन गर्दा ८५ करोड रुपैयाँ मात्र खरिदका लागि आवेदन परेको उनले सुनाए । उनकाअनुसार अझै १५ करोड रुपैयाँको म्युचल फण्ड बिक्री गर्न बाँकी छ ।
हालै एनआईसी एसिया बैंकले १ अर्ब रुपैयाँको एनआईसी एसिया ग्रोथ फण्डको पनि बिक्री नभएपछि समय थप गरिएको छ । एनआईसी ग्रोथ फण्ड फागुन १३ गते बन्द गर्ने योजना रहेकाे याेजना व्यवस्थापक एनआईसी क्यापिटल लिमिटेडले जानकारी दिएको छ ।
म्युचल फण्ड बिक्री नहुनुमा बैंकको महंगो ब्याजदर पनि प्रमुख कारण रहेको एनएमबी क्यापिटल लिमिटेडका सीईओ श्रीजेयस घिमिरे बताउछन् । महंगो ब्याजदरले प्रतिफल नआउने देखेपछि लगानीकर्ताले खरिद नगरेको हुन सक्ने उनको अनुमान छ । “साधारण सेयर (आईपीओ) हकप्रद र एफपीओ आइरहेका बेला एकैपटक २ बैंकको म्युचल फण्ड आउँदा पनि बिक्रीमा असर परेको देखिएको छ” उनले भने “केही समय अघिपछि गरेर ल्याएको भए बिक्री हुने थियो ।” उनले एनएमबीको ३ गुणा आवेदन परेको सुनाए ।
चालु आर्थिक वर्षमा सिद्धार्थ इक्विटी फण्ड, सानिमा इक्विटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड र सिटिजन म्यूचल फण्ड १ ले म्यूचल फण्ड निष्काशन गर्ने बोर्डको अनुमति पाई बिक्री पनि गरिसकेका छन् । बजारमा सिद्धार्थ इक्विटी फण्ड र सानिमा इक्विटी फण्डले बिक्रीमा ल्याएको म्यूचल फण्डको सजिलै बिक्री भएको थियो ।