काठमाडौं । सरकार स्वामित्वको नेपाल औषधी लिमिटेडले बुधबारदेखि सिटामोलको पुनः उत्पादन थालेको छ । अन्तर्राष्ट्रिय मापदण्ड लगायतका विभिन्न कारणले २०६६ सालदेखि उद्योगले सिटामोल लगायतको सम्पूर्ण औषधी उत्पादन गर्न बन्द गरेको थियो ।

बुधबारदेखि परिक्षणका रुपमा उत्पादन सुरु गरी फागुनभित्रै सिटामोललाई बजारमा लैजाने तयारी भएको उद्योगका महाप्रबन्धक डा. रोभसकुसुम सुवेदीले बताए ।
सरकारी उद्योगले सुरु गरेको सिटामोल उत्पादनले औषधीको मूल्य नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । कम्पनीले दैनिक ३ लाख २० हजार ट्याबलेट सिटामोल उत्पादन गर्ने सक्ने क्षमताको उपकरण जडान गरेसँगै सिटामोलको उत्पादन थालनी हुने भएको हो । सिटामोलको खुद्रामूल्य प्रति ट्यावलेट १ रुपैयाँ तोकिएको छ ।
‘दुई हप्ताअघि नै भारतबाट सिटामोल उत्पादन गर्ने ट्याब्लेट पञ्जिङ मेसिन उद्योगमा ल्याइसकेका छाै,’ उनले भने ‘प्राविधिक टोली नआएको कारण मेसिन सञ्चालनमा ल्याउन सकिएको थिएन ।’
कम्पनीको उत्पादन प्रमुख विजय श्रीरत्न बज्रचार्यले परीक्षण उत्पादनपछि दैनिक एक ब्याज साईजमा सिटामोलको उत्पादन गर्ने बताए । ‘एक ब्याज साईजमा ३ लाख २० हजार ट्याप्लेड सिटामोलको उत्पादन हुन्छ,’ उनले भने ‘साथै आवश्यकता अनुसार उत्पादनको क्षमता बढाउन सकिन्छ ।’
उनले सिटामोलको उत्पादनसँगै बाँकी ८ थरीका ट्याब्लेट औषधीहरु ३ महिनाभित्र उत्पादन सुरु गर्ने बताए । ‘कम्पनीले आवश्यक विभिन्न मेसिनहरु थपिरहेको छ, भवनभित्र पुनःसंरचना गरेका छौं,’ उनले भने ‘कम्पनीले २० लाख ट्याब्लेट उत्पादन गरिसकेपछि मात्रै बजारमा बिक्री गर्ने छौं ।’
उनका अनुसार तीन महिनाभित्र आइरन चक्की, भिटामिन, कोडिन, साल्बुमोल लगायतका खोकी, पिसाब, एलर्जी, ग्यास्टीक जस्ता अत्यावश्यक रोगहरुको औषधिहरु उत्पादन गर्ने भएको छ ।
२०२९ सालमा स्थापना भएको कम्पनी २०६६ सालमा पूर्ण रुपमा बन्द भएको थियो । यसै वर्ष वैशाख २४ गते तत्कालीन उद्योगमन्त्री नवीन्द्रराज जोशीको पहलमा कम्पनीले जीवन जलको उत्पादन सुरु गर्दै पुनःसञ्चालनमा आएको थियो ।
कम्पनीले औषधी उत्पादनको लागि विश्व स्वास्थ्य संगठन( डब्ल्युटीओ)ले गरेको कुशल निर्माण विधि (जीएमपी) सुरु गर्नका लागि सरकारले १४ करोड ६५ लाख रुपैयाँ ऋिण साह्यता गर्ने निर्णय गरेको छ । जसअनुसार हालसम्म पहिलो किस्ता ६ करोड ४८ लाख रुपैयाँ खर्च भइसकेको कम्पनीको भनाइ छ । जसमा सिटामोल उत्पादन गर्न करिब डेढ करोड रुपैयाँ खर्च भएको छ ।