काठमाडौं । एनआइडीसी डेभलपमेन्ट बैंकलाई पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकमा गाभ्दा साधारण सेयर के हुन्छ भन्ने प्रश्न उब्जिएको छ ।

सर्वसाधारणको समेत सेयर रहेको एनआइडीसी लामो समयदेखि नेप्सेमा सूचिकृत छ र सेयर कारोबार समेत भैरहेको छ । तर राष्ट्रिय बाणिज्य बैंक भने पुर्ण सरकारी स्वामित्वको बैंक हो र उसको सबै सेयर प्रमोटर मात्रै छ । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन(बाफिया)ले सरकारी स्वामित्वको एउटा बैंकले सर्वसाधारणलाई सेयर जारी गर्नु नपर्ने सुबिधा दिएको छ । तर बाणिज्य बैंकमा गाभिन लागेको एनआइडीसीमा रहेको साधारण सेयरले बाणिज्य बैंकलाई पनि नेप्सेमा सूचिकृत हुनै पर्ने बाध्यात्मक अवस्था सृजना गर्छ वा गर्दैन् ? प्रश्न खडा भएको हो ।
हाल साधारण सेयरलाई संस्थापक सेयरमा रुपान्तरण गर्न पाउने कानुनी व्यवस्था छैन् । ‘संस्थापक सेयरलाई साधारण बनाउन त मिल्छ तर साधारण सेयरलाई संस्थापक बनाउन मिल्दैन्, त्यसकारण बाणिज्य बैंक पनि नेप्सेमा सूचिकृत हुनै पर्ने बाध्यतामा आईपुगेको छ’, एनआइडीसी बैंक श्रोतले भन्यो । सो बिषयमा मर्जर कमिटीमा समेत प्रारम्भिक छलफल भएको छ तर ठोस निष्कर्ष भने निकालिएको छैन् । एनआइडीसीमा सर्वसाधारणको ३० लाख ९१ हजार बराबरको ३० हजार ९ सय १ कित्ता सेयर रहेको छ ।
एनआइडीसीमा एक कित्ता मात्रै सेयर भएका लगानीकर्ता पनि छन् । ‘एक कित्ता, २ कित्ता, ५ कित्ता, १० कित्ता र ५० कित्तासम्म सेयर हुने लगानीकर्ताको संख्या संख्या ४५० को हाराहारीमा छ । ५० कित्ता भन्दा बढि सेयर हुनेहरुको संख्या करिब एक सय जना छ ।’, बैंक श्रोतले भन्यो । एनआइडीसीले एक बराबर एक कित्ताको स्वाप रेसियोमा चित्त नबुझे प्रति कित्ता ४४८४ रुपैंयाँ दिएर सर्वसाधारणको सेयर किन्ने भनेको छ । तर त्यसरी पैसा दिँदा पनि सो सेयरको स्वामित्व साधारण हुने वा प्रमोटर हुने भन्नेबारे भने केहि उल्लेख गरिएको छैन् ।
राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले मर्जरपछि एनआइडीसीको सेयर नेप्सेमा कारोबार नहुने बताए । ‘एनआइडीसीमा रहेका सर्वसाधारणको सेयर सरकारले खरिद गरिदिन सक्छ तर मर्जपछि नेप्सेमा कारोबार हुन्न’, राष्ट्र बैंकका सहायक प्रवक्ता पण्डितले विकासन्युजसँग भने । उता, कम्पनी रजिष्ट्रारको कार्यालयका कानुन तर्फका उप रजिष्ट्रार राजेन्द्र थापाले भने मर्जरपछि पनि सर्वसाधारणको नेप्सेमा कारोबार भैरहने बताए ।
‘साधारण सेयरलाई प्रमोटर बनाउन मिल्दैन, एनआइडीसीको सेयर नेप्सेमा कारोबार भैरहन्छ, तर बाणिज्य बैंकले थप सेयर भने नेप्सेमा सूचिकृत गर्नु पर्दैन’, उप रजिष्ट्रार थापाले विकासन्युजसँग भने । राष्ट्रिय वाणिज्यका अध्यक्ष रविन्द्र पाण्डेले एनआईडीसीमा भएको साधारण सेयर रहिरहने बताए । सेयर कारोबारका विषयमा धितोपत्र वोर्डको अन्तिम निर्णय हुने उनको भनाई छ ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले पनि मर्जरपछि एनआइडीसीको सेयर नेप्सेमा सूचिकृत हुने वा नहुने भन्नेबारे एकिन नभएको बताए । एनआइडीसीले मर्जर र स्वाप रेसियो लगायतका प्रस्ताव पास गराउन माघ १९ गते बिशेष साधारण सभा बोलाएको छ । सभाले यसअघि वाणिज्य बैंकसंग भएको स्वाप रेसियो र अन्तिम सम्झौता अनुमोदन गर्ने छ ।
दुबै बैंक एकआपसमा गाभिनका लागि मूल्याँकनकर्ता नियुक्त गर्ने प्रस्ताव पारित गर्ने कार्यसुची रहेको छ । गत भदौमा दुई बैंक एकआपसमा गाभिने विषयमा सम्झौता भएको थियो । दुबै बैंक गाभिएर माघ १ गतेदेखि एकिकृत बैंकिङ कारोबार सुरु गर्ने भने पनि ढिलाइ भएको छ ।
२०७३ माघ १४ गतेको मन्त्रीपरिषद बैठकले एनआईडिसीलाई वाणिज्य बैंकमा गाभ्ने निर्णय गरेको थियो ।हाल राष्ट्रिय वाणिज्य बैंकको चुक्तापुँजी ८ अर्ब ५८ करोड रुपैयाँ छ । एनआईडीसीको ४१ करोड ५८ लाख रुपैयाँ चुक्ता पूँजी छ ।