काठमाडौं । पछिल्लो समय विश्वमा बढेको प्रविधिको प्रयोगले वित्तीय प्रमुख (सीएफओ) को भुमिका चुनौतिपूर्ण बन्दै गएको सरोकारवालाहरुले बताएका छन् । मंगलवारदेखि राजधानीमा सञ्चालनमा भइरहेको दक्षिण एशियाली लेखा व्यवसायीहरुको सम्मेलनमा सहभागिहरुले यस्तो बताएका हुन् ।
सम्मेलनमा सीएमए श्रीलंकाका परिषद सदस्य एड्रियन परेराले प्रविधि जहिले पनि सहयोगीको रुपमा उपयोगी हुन्छ तर, विश्वमा बढ्दै गएको प्रविधिको प्रयोगले वित्तीय प्रमुखहरुको भुमिकामा चुनौति थपिएको बताए । उनका अनुसार हाल विश्वमा ९ सयभन्दाबढी डिजिटल मुद्रा (क्रिप्टोकरेन्सी) प्रयोगमा रहेको छ । साइबर अपराध बढिरहेको र रोबटले मानिसले जस्तै काम गर्न थालेको अवस्थामा वित्तीय व्यवस्थापन थप चुनौतिपूर्ण बन्दै गएको उनको भनाइ छ ।
सम्मेलनमा बुधबार वित्तीय प्रमुखको भविश्य, संस्थागत सुशासनमा वित्तीय प्रमुखको भुमिका र प्रविधिगत रुपान्तरणमा वित्तीय प्रमूखको भुमिकामा लगाय विषयमा छलफल केन्द्रीत भएको बताइएको छ । अधिकांश मुलुकका वित्तीय प्रमूखहरुले प्रविधिको कारण आफ्नो कार्य कुशलतामा फरक पर्ने तथ्याङ्क प्रस्तुत गरे । उनीहरुले वित्तीय व्यवस्थापनमा प्रविधिको प्रयोग बढ्नु राम्रो भएपनि समस्याको समाधान नभएको उल्लेख गरेका थिए ।
परम्परागत शैलीको प्रमूखहरुको अस्तित्व संकटमा
प्रविधिको प्रयोग बढ्दै गएकोले परम्परागत शैलीमा काम गर्ने वित्तीय प्रमूखहरुको अस्तित्व संकटमा परेको बताइएको छ ।
आइसीए श्रीलंकका उपाध्यक्ष मनिल जयसिंगेले वित्तीय विवरण बनाउने, तथ्यांक राख्ने लगायतका काम मात्र गर्ने वित्तीय प्रमुखहरुको अस्तित्व संकटमा पर्ने बताए ।
नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले व्यवसायको जोखिम व्यवस्थापन गर्नेदेखि साइबर सुरक्षा अवलम्बन, राष्ट्रिय र अन्तर्राष्ट्रिय मापदण्डको परिपालना लगायत सबै किसिमका काममा वित्तीय प्रमुखहरु अभ्यस्त हुनुपर्ने बताए ।
त्यस्तै कार्यक्रममा भारतीय आइसीएका केन्द्रीय परिषद सदस्य विजय कुमारले आफ्नो स्वामित्व रहेको अर्को संस्थासँग कारोबार गर्न नडराउन पर्ने तर्क गरे ।
साफा ‘बेष्ट प्रिजेन्टेड अवार्ड’ प्रदान
दक्षिण एसियाली लेखाव्यावसायी महासंघ (साफा)ले सन् २०१६ मा उत्कृष्ट वार्षिक प्रतिवेदन पेश गर्ने कम्पनीहरुलाई विभिन्न पदकद्वारा सम्मानित गरेको छ । बुधबार महालेखापरिक्षक टंंकमणी शर्मा र अर्थसचिव शंकर अधिकारीले दर्जन विधामा उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गर्ने साफा सदस्य देशका कम्पनीहरुलाई सम्मानित गरेका हुन् ।
साफा बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०१६का विभिन्न १२ क्षेत्रका कम्पनीहरुलाई अवार्ड प्रदान गरिएको छ ।जसअन्र्तगत कृषि विधामा गोल्डेन हार्भेस्ट एग्रो लिमिटेड–वंगलादेश, सूचना प्रविधिमा माइन्डट्रि लिमिटेड–भारत लगायत देशलाई विभिन्न अवार्ड प्रदान गरिएको छ ।
त्यस्तै गैरसरकारी विधामा सिटिजन्स फाउन्डेसन–पाकिस्तान, निजी क्षेत्रका बैंक विधामा बिआएसी बैंक लिमिटेड–बंगलादेश, त्यस्तै श्रीलंका लागतयका विभिन्न कम्पनीहरु पुरस्कृत भएका छन् । सार्क एनिभर्सरी अवार्ड फर कर्पोरेट गभर्रनेन्स इस्लामी बैक बंगलादेश लिमिटेडले जितेको छ । नेपालबाट वित्तीय सेवा विधामा कैलाश विकास बैंक र निजी बैंक विधामा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल र निर्माण क्षेत्रमा बुटवल पावर कम्पनी लिमिटेड सम्मानित भएका छन् ।
बुधबार नै आइक्यानले आफ्नो २१ औं वार्षिकउत्सव समेत मनाएको छ । वार्षिकउत्सवको अवसरमा उत्कृष्ट विद्यार्थीहरु तथा कर्मचारीहरुलाई समेत पुरस्कार प्रदान गरिएको छ ।
यसैगरी वार्षिक उत्सवकै अवसरमा उत्कृष्ट कर्मचारीका रुपमा संस्थामा कार्यरत समिता डंगोल, आमोद खनाल र अनिमा मर्हजन समेततले नगत पुरस्कार प्रदान गरिएको जानकारी गराइएको छ ।