काठमाडौं । नियामक बीमा समितिका कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली अर्थमन्त्रालय पुगेको छ । समितिले कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावली २०६८ संसोधनको प्रस्ताव अर्थमा पठाएको हो । ‘कर्मचारी सेवा शर्त सम्बन्धी विनियमावली अर्थमन्त्रालय पुगेको छ, नयाँ सरकार आएसँगै स्वीकृत भएर कार्यान्वयनमा आउँछ’, बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईँले विकासन्युजसँग भने ।
बीमा समितिका कर्मचारीहरुको सेवा सुबिधा तथा कार्य क्षमता अभिवृद्धिका लागि महत्वपुर्ण योगदान पुग्ने गरी तयार पारिएको संसोधित विनियमावलीले कर्मचारीको मनोबल बढाउने अध्यक्ष चापागाइँले बताए । ‘तलब मान त लोकसेवाको गाइडलाइन अनुसार नै छ, तर पनि संसोधित विनियमावलीले कर्मचारीको मनोबल र कार्य क्षमता बढाउन सहयोग गर्छ’, अध्यक्ष चापागार्इँले भने ।
पछिल्लो समय बीमा समितिमा कर्मचारीको आकर्षण घट्न थालेको आरोप लागिरहेको छ । एक बर्षको अन्तरालमा करिब आधा दर्जन उच्च तहका कर्मचारीले बीमा समितिका जागिर छाडेर निजी कम्पनी रोजेका छन् । कात्तिक महिनामा उप निर्देशकको जागिर छाडेर राजकुमार अर्यालले सनलाईफ इन्स्योरेन्स कम्पनीको सिइओ रोजे । त्यस्तै, साउनमा चाटर्ड एकाउण्टेन्ट सन्तोष प्रसाईँ पनि नेपाल लाइफको डेपुटी सिइओ बन्न गए । अर्का चाटर्ड एकाउण्टेन्ट लक्ष्मण ज्ञवालीले पनि बीमा समितिको जागिर छाडेर प्राइम लाइफमा चिफ अपरेशन अफिसर रोजे ।
जेठमा कानुन अधिकृत बिनोद भट्टले पनि नेपाल लाइफको कानुन अधिकृत पदलाई रोजेर बीमा समिति छाडेका थिए । अधिकृत स्तरका केहि कर्मचारीले समितिको जागिर छाडेर निजी कम्पनी जाने तयारी गरेको चर्चा समितिमा चलिरहेको छ । समितिले भर्खरै आव्हान गरेको नयाँ कर्मचारी भर्ना प्रक्रियामा पनि उत्साहजनक आवेदन नपरेको बताइन्छ । हाल करिब ४० वटा भन्दा बढि संस्थाहरुको नियमन गर्न समितिमा ६५ जना कर्मचारी छन् ।
ती संस्थाहरुको १३ सयका हाराहारीमा शाखा सञ्जाल रहेको छ । कर्मचारी सेवा शर्त विनियमावलीले तलब भत्ताका साथै उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माण गर्ने आशमा समितिका कर्मचारी छन् ।