काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले २७ मेगावाट क्षमताका दुई जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । लगानीकर्ताको सुरक्षा र प्रतिफल दिनका लागि १४.५ मेगावाटको इर्खुवाखोला र १२.३ मेगावाटको माद्मेखोला जलविद्युत आयोजना बनाउन लागेको हो ।

नयाँ आयोजना बनाएर लगानीकर्तालाई प्रतिफल दिनका लागि काम सुरु भएको नेसनलका अध्यक्ष कुमार पाण्डेले बताए । हाल सञ्चालनमा रहेको नेसनलबाट लगानीकर्ताले प्रतिफल पाउने संभावना नभएका कारण नयाँ आयोजना निर्माण गर्न लागेको पाण्डेको भनाई छ ।
इर्खुवाको बिजुली बिक्रीका लागि नेपाल विद्युत प्राधिकरणसंग मस्र्यौदा विद्युत खदिबिक्री सम्झौता (पीपीए) भएको उनले जानकारी दिए । औपचारिक रुपमा पीपीएमा हस्ताक्षर भएपछि आयोजनाको काम सुरु हुने उनले जानकारी दिए । आयोजना निर्माण गर्नका लागि लोअर इर्खुवा हाइड्रोपावर कम्पनी गठन भइसकेको छ । आयोजना भोजपुर जिल्लामा पर्छ ।
आयोजनामा नेसनलको ६७ प्रतिशत र बाँकी अन्य लगानीकर्ताको स्वामित्व हुने उनले बताए । आयोजनामा लगानी जुटाउन विभिन्न बैंकसंग छलफल भइरहेको उनले सुनाए । पीपीए भएपछि आयोजनाका लागि लगानी जुट्ने उनको भनाई छ । आयोजना आर्थिक रुपमा आकर्षक देखिएको अध्ययनले देखाएको छ ।
यस्तै कम्पनीले कास्कीमा ररहेको माथिल्लो माद्मेखोला आयोजनाको संभाव्यता अध्ययन गर्न विद्युत विकास विभागबाट अनुमतिपत्र (लाइसेन्स) पाएको छ । नेसनलले आयोजनाको अध्ययन सुरु गरेको छ ।
चालु आर्थिक वर्षको ६ महिनामा नेसनल ९७ लाख २१ हजार रुपैयाँ नोक्सानमा गएको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमाशमा कम्पनीले ९५ लाख २९ हजार रुपैयाँ खुदनाफा गरेको थियो ।
१० वर्ष अघिदेखिको कर दाइत्व भुक्तानी गरेका कारण नेसनल नोक्सानमा गएको हो । सरकारलाई गत वर्षसम्मको ४ करोड ५ लाख ८२ हजार रुपैयाँ कर बुझाएपछि घाटामा गएको उनले जानकारी दिए । अब कर दाइत्व नरहेको उनको भनाई छ ।
चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले बिजुली बिक्रीबाट ५ करोड ३९ लाख २१ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको संचित नोक्सान ४३ करोड रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८१ पैसा रहेको छ ।