सेयरका नाममा जनताबाट पैसा उठाएर जलविद्युत कम्पनीले ठगी सुरु गरेका छन्: ज्ञानेन्द्रलाल प्रधान

<p>जलविद्युतमा लगानी केन्द्रीत गरेका ज्ञानेन्द्रलाल प्रधानले अहिले पुँजीबजार, कृषि, हाउजिङ र रियलस्टेटमा आफनो लगानीलाई विस्तार गरेका छन् । २० मेगावाटको मोदी आयोजना निर्माण गरिरहेका प्रधानले अहिले ४३ मेगावाटको आँखुखोला आयोजना थाल्ने तयारीमा छन् । पछिल्लो समयमा जलविद्युतमा करोडौ रुपैयाँ लगानी गर्ने व्यक्तिको अभाव भएकोमा उनी चिन्ता व्यक्त गर्छन् । थोरै पैसा राखेर सर्वसाधारणबाट धेरै पैसा [&hellip;]</p>

जलविद्युतमा लगानी केन्द्रीत गरेका ज्ञानेन्द्रलाल प्रधानले अहिले पुँजीबजार, कृषि, हाउजिङ र रियलस्टेटमा आफनो लगानीलाई विस्तार गरेका छन् । २० मेगावाटको मोदी आयोजना निर्माण गरिरहेका प्रधानले अहिले ४३ मेगावाटको आँखुखोला आयोजना थाल्ने तयारीमा छन् । पछिल्लो समयमा जलविद्युतमा करोडौ रुपैयाँ लगानी गर्ने व्यक्तिको अभाव भएकोमा उनी चिन्ता व्यक्त गर्छन् । थोरै पैसा राखेर सर्वसाधारणबाट धेरै पैसा उठाएर धेरै कमाउनेको संख्या बढेको छ । यसले अन्तत साना लगानीकर्ता डुब्ने संभावना रहेको उनले भनेका छन् । नेपालमा लगानीको विषयमा केन्द्रीत रहेर उद्यमी प्रधानसँग विकासन्युजका लागि बाबुराम खड्काले गरेको कुराकानीको सारसंक्षेप :

ज्ञानेन्द्रलाल प्रधान, कोषाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

यहाँ अहिले केमा व्यस्त हुुनुहुन्छ ?

म जलविद्युत क्षेत्रबाट आएकाले यसै क्षेत्रमा निरन्तर लागिरहेको छु । अहिले ४३ मेगावाटको आँखुखोला जलविद्युत बनाउन बैंकसँग ऋण लगानी सम्झौता सम्पन्न गरेका छौँ । आउँदो ३ महिनामा आयोजनाको निर्माण सुरु हुँदैछ । यससँगै १८० मेगावाटको कालिगण्डकी गर्ज आयोजना चिनीयाँसँग मिलेर बनाउँदै छौँ । यसको अध्ययन अघि बढेको छ । देशको पुँजीले मात्र जलविद्युत बन्न सक्दैन भन्ने देखियो । आज बैंकमा गएर उद्योग वा जलविद्युतका लागि नयाँ कर्जा माग्नु भयो भने दिन तयार छैनन् ।

हामीले पहिलादेखि नै भन्दै आएको कुरा हो, जलविद्युतमा स्वदेशी लगानीले मात्र पुग्दैन् । फेसबुक विज्ञले स्वदेशी लगानीले जलविद्युत बन्छ भन्दैछन् । बुढीगण्डकी स्वदेशी पुँजीले बनाउने कुरा भइरहेको छ । एनसेलले ३६ अर्ब रुपैयाँ पैसा बजारबाट निकाल्दा हाम्रो के हालत भएको छ ? हामीसँग पर्याप्त पुँजी छैन र विदेशी लगानी ल्याउनुपर्छ भन्ने पुष्टि भएको छ । ठुलो लगानी विदेशबाट आउनु पर्छ र स्वदेशी लगानीलाई संरक्षण र प्रोत्साहन गर्नुपर्छ ।

नेपाल राष्ट्र बैंकले ठुलो गल्ति गरेको छ । १२ प्रतिशतसम्म जलविद्युत र कृषिको लगानीलाई घटाएर जलविद्युतलाई ५ र कृषिलाई १० प्रतिशत गरेको छ । अहिलेको अवस्थामा कृषिमा बैंकको लगानी १० प्रतिशत पुग्ने अवस्था छैन र बैंकले पेनाल्टी तिर्नुपर्ने अवस्था छ । जलविद्युतमा सबैको लक्ष्य पुगेकाले बैंकबाट थप लगानी नभएको अवस्था छ । जलविद्युतमा दिएको ५ प्रतिशतको लक्ष्य पुरा भएकाले थप लगानी गर्न सक्ने अवस्था छैन । आउने असारसम्म कुनै पनि जलविद्युत आयोजनामा थप लगानी हुने संभावना देखिएको छैन ।

पहिला पुगेको क्षेत्रमा थप लगानी हुँदैन भने बैंकको लक्ष्य अब नपुगेको कृषि र पर्यटनलगायत अन्य क्षेत्रमा हुनेछ । दोस्रो कुरा बजारमा लगानीयोग्य पुँजीको संकट छ । अर्कोकुरा अहिलेको ब्याजदरले हाल पाईरहेको बिजुलीको मूल्य आकर्षक छैन । ५ रुपैयाँ ४० पैसाको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) र त्यो पनि ३० वर्षका लागि मूल्य स्थिर र बैंकको ब्याजदर १४ प्रतिशत पुगेको अवस्थामा अब जलविद्युतको लगानी शुन्य नाफामा छ ।

यसैले गर्दा जलविद्युतमा ठगी सुरु भयो अब, म पैसा लगाउँछु भन्ने हैन की म अरुको पैसा लगाएर कमाउँछु भन्ने व्यक्ति आउन थाले । जलविद्युतमा २० करोड रुपैयाँ लगानी गर्छु भन्ने लगानीकर्ता भेटिन्न तर १ करोड रुपैयाँ लगाउछु र आयोजना बनाउँदा बनाउँदै ५ करोड रुपैयाँ थप निकाल्छु र सुरक्षित हुन्छु भन्ने व्यक्तिले प्रवेश गरेका छन् ।

अहिले सबै जलविद्युतको श्रेणी हेर्नुहुन्छ भने १० करोड रुपैयाँ लगाउने लगानीकर्ता शुन्य भएकाले अब यसमा पनि ठगी सुरु भयो । जलविद्युत ठगिको पेशामा रुपान्तरण भएको छ । नाम नलिउँ केही जलविद्युत कम्पनीको सेयरहरु व्यापक बिक्री भइरहेको छ, कसको सेयर बिक्री भइरहेको छ ? संस्थापक सेयर बिक्री भइरहेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचिकृत भई ३ वर्ष पुगेका कम्पनीको कहाँ भएको सेयर मूल्य घटेर अहिले कुन अवस्थामा आइरहेको छ भन्ने स्पष्ट छ । संस्थापक लगानीकर्ता आफैँ कम्पनीबाट बाहिरिन थालेका छन् भने दोस्रो बजारमा सेयर किन्ने सर्वसाधारण फस्दै गएका छन् ।

जलविद्युत कम्पनीको संस्थापक सेयर बढी बिक्री भइरहेको यहाँले कुरा गर्नुभयो, यसको कारण के होला ?

अब नाफा छैन । उसलाई प्रतिसेयर आम्दानी (ईपीएस) राम्रो छैन भन्ने कुरा राम्ररी थाहा छ । १ सय रुपैयाँको अहिले ४ सय रुपैयाँ पाइहालिन्छ भने अहिले बजारमा सेयर ओगटेर को बस्छ ? ३ वर्ष भइसक्यो बेच्न पाइन्छ भने यसबाट जलविद्युतमा ठगी गर्नका लागि दुईथरीका पेशा सुरु भएका छन् । पहिलो जलविद्युतमा प्रतिफल राम्रो छ लगानी गर्नुस भन्ने तर आफु लगानी नगर्ने, धेरैबाट पैसा उठाउने ।

दोस्रो ठगी भनेको बनिसकेको आयोजनाको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने र आफु बेचेर बाहिरिने । यसले गर्दा म फेरी पनि भन्छु जलविद्युतमा ठगी सुरु भएको छ । ३ वर्षसम्म सेयर बेच्न बन्देज र खुला हुनु राम्रो हो । तर जलविद्युतमा लगानी गर्ने सर्वसाधारण सजग नभएको अवस्था छ किनभने अहिले सबैले चिलिमे हाइड्रोपावरको नाफालाई मात्र हेरिरहेका छन् ।

जलविद्युतमा ३ वर्षपछि सबै सेयर साधारण हुन्छ । मैले पनि त्यही गर्ने अवस्था आएको छ अब । प्रतिफल हेरेर सेयर किन्नेको अवस्था छैन आयोजना हेरेर मात्र लगानी भएको छ । मैले यसमा ठुलो आन्दोलन ल्याउने अब सेयर किन्ने कोही नफसुन् भन्नका लागि अभियान सुरु गर्न लागेको छु ।

यहाँले निर्माण गर्न लाग्नु भएको आँखुखोला आयोजनामा कति लगानी हुँदैछ ?

आँखुमा कुल ६ अर्ब ३० करोड रुपैयाँ लगानी हुनेछ । सनराईज बैंकको अगुवाईमा ७५ प्रतिशत ऋण लगानी हुँदैछ । २५ प्रतिशत हाम्रो स्वपूँजी लगानी हुनेछ । ३ वर्षमा सक्ने लक्ष्यमा छौँ । ठुला आयोजनामा अहिलेको पीपीएले केही समय धान्छ तर १० मेगावाटका साना आयोजना अब कुनै पनि हालतमा १२ वर्षसम्म नाफामा जान सक्दैन । जलविद्युतमा नाफा नहुने कुरै छैन ।

शुन्य मुल्यको पानी र १० वर्ष शुन्य आयकरबाट नाफा निकाल्न सकिन्छ । १२ महिना सञ्चालन अवधि भएको कुनै पनि आयोजनाले नाफा निकाल्छ । जलविद्युतमा नगद प्रवाहको समस्या हो । यति कर्जा लिइएको हुन्छ की बैंकले सबै आम्दानी तान्छ र यसमा लुकाउनु पर्ने कुनै कुरा छैन । एक पटक बनाइसकेपछि यसमा लुकाउनु पर्ने कुरा छैन । सञ्चालक खर्च बैंकको नियन्त्रणमा हुन्छ । आफुले कति लगानी गरेर आफु बनाउन बसेको छ भन्ने मुल कुरा हो ।

आँखुमा चिनियाँ लगानी ल्याउने कुरा आएको छ, कहाँ पुग्यो यसको प्रक्रिया ?

हामीले ईपीसीएफमा बनाउन खोजेको हो । यसमा चिनियाँ लगानीकर्ताले चासो देखाएका छन् । सम्झौता भएको छैन । आँखु राम्रो आयोजना हो । बाटो, प्रसारणलाइन र लगानीको सुनिश्चित भइसकेको आयोजना हो । निर्माणको समय छोटो बनाएर कसरी गुणस्तरीय बनाउने भन्ने आँखुमा मुख्य समस्या हो । यो काम नेपाली ठेकेदारमा देखिएन । चीनमा २ वर्षमा बन्ने आयोजना हामी कहाँ ५ वर्ष लाग्छ । हामीले चिनियाँ ठेकेदार ल्याउन लागेका छौँ ।

लगानी स्वदेशमा जुटिसकेपछि फेरी चीनबाट लगानी किन ल्याउनु पर्यो ?

हामीले चीनबाट लगानी ल्याउन खोजेको हैन, आयोजना बनाउन मात्र ठेकेदार ल्याउन खोजेको हो । आँखुमा हामीलाई लगानी चाहिदैन । आगामी ४ वर्षसम्म स्वपुँजीको व्यवस्था गर्न सक्छौ । ८० करोड स्वपुँजी चाहिन्छ । सालमा २० करोड रुपैयाँ लगानी गरे पुग्छ । हामीसँग थुप्रै लगानी गर्नका लागि साझेदार तयार भएका छन् । राम्रो चिनियाँ कम्पनी पाइयो र भविष्यमा ठुलो लगानी ल्याउने संभावना देखियो भने हामी यसमा पनि खुला छौ ।

कालीगण्डकी गर्ज आयोजनाको कुरा भएको धेरै वर्ष भयो, कहिलेदेखि काम सुरु हुदैछ ?

गर्जको लाइसेन्स खारेज भएको थियो, हामीले पाइसकेका छौ । आयोजनालाई थप जग्गा किन्ने प्रक्रिया अघि बढेको छ । ७ करोड रुपैयाँ खर्च भइसकेको छ । यो वर्षभित्र आयोजनाको भविष्य थाहा हुनेछ । १८० मेगावाट भएकाले हामी सक्दैनौ । यसमा विदेशी लगानी ल्याउने हो ।

२० मेगावाटको निर्माणाधिन मोदी आयोजना कहिले सम्पन्न हुदैछ ?

मोदी जेठसम्म सक्ने तयारीमा छौँ । असारमा बढी आम्दानी हुने भएकाले जसरी पनि असारसम्म सञ्चालन गर्ने तयारीमा छौँ । ८० प्रतिशत कम सकिएको छ । अझै ५ महिना बाँकी छ । यसमा २ वर्ष ढिला भएका छौँ । त्यसैले यो आयोजनाको प्रतिफल त्यत्ति राम्रो छैन । लागत ६५ करोड बढेको छ । २ वर्षको नाफा जान्छ ।

आईपीओ कहिले निष्कासन गर्नुहुन्छ ?

आयोजना सञ्चालनमा आएको १ वर्षमा आईपीओ निष्कासन गर्ने छौँ । हामीले पब्लिक लिमिटेड कम्पनी बनाइसकेका छौँ ।

यहाँले जलविद्युतलाई विस्तारै छाडेर अन्य क्षेत्रमा लगानी गर्न थाल्नु भएको छ भन्ने सुनिएको छ, यहाँ के भन्नुहुन्छ ?

गएको हैन । नेपालमा एउटै क्षेत्रमा बसेर मात्र काम गर्न सकिन्न । किनभने सीमित क्षेत्र र जोखिम पनि बढी भएकाले लगानी विविधिकरण हुन आवश्यक छ । एउटै बाँस्केटमा सबै अण्डा राख्नु हुदैन भन्ने व्यवस्थापनको सिद्धान्त पनि हो । आज मेरो सबैभन्दा ठुलो व्यवसाय भनेको पुँजीबजार नै हो । हामीले हाउजिङमा लगानी बढाएका छौँ ।

सीई कन्ष्ट्रक्सनको साझेदारीमा ४ वटा हाउजिङ योजना अघि बढाएका छौँ । सीईसँगको साझेदारीमा हाम्रो शिवम, इलाइट, पवित्र आवास योजना छन् । यस्तै हात्तिवन दोस्रो आवास योजना पनि आउँदै छ । अन्य आवास योजना खोज्दै छौ । हाम्रो साझेदार सीई मात्र हो । सीई र हामीले आधा लगानीमा आयोजना अघि बढाएका छौँ । हाम्रो फोकस, जलविद्युत, पुँजीबजार, रियलस्टेट, कृषि फार्म र हाउजिङ रहेको छ ।

यहाँ कृषिमा पनि लाग्नु भएको थियो, त्यो योजना कहाँ पुग्यो ?

कृषिमा हामी लागेका छौँ । हामीले गाई फार्म र एग्रो फार्म सञ्चालन गरिरहेका छौँ । हामी भ्यालु एड हुने नयाँ अवधारणामा जादैछौँ । यसबाट ठुलो प्रतिफल त आउदैन तर म कृषिमा पनि छु भन्ने सन्तुष्ठि मात्र लिने हो । यसमा एभाकाडो र किभी गार्डेनमा जादैछौ । चितवनमा एभाकाडो गार्डेन हामीले सुरु गरिसक्यौँ । यसले हामीलाई केही भ्यालु एड दिन्छ होला ।

यहाँले पछिल्लो समयमा जग्गामा धेरै लगानी गर्नुभएको कुरा बजारमा आएको छ, कति लगाउनु भएको छ ?

हामीले जग्गा प्लटिङ गरेर बेच्ने काम गरेका छैनौ । तपाईले कही देख्नु भएको छ ? छैन किनभने हामीले यसमा लगानी गरेका छैनौ । हामीले हाउजिङ बनाएर बेच्ने हो । हाम्रो हाउजिङ साझेदार सीई हो । जलविद्युतमा नेतृत्व हामी र निर्माणमा सीईले लिन्छ ।

तपाईले लगानी गरिरहेको मध्य सबैभन्दा छिटो र धेरै कमाउने व्यवसाय कुन हो ?

एउटा टाइम भर्सेस मनी यो २४ घण्टामा मात्र सीमित छ भने अर्को मनी भर्सेस मनी । जस्तो कुनै प्रतिष्ठित उद्योगले ३ वटा सिमेन्ट कारखानामा लगानी बढायो भने उसले सबै कुरा हेर्नुपर्दैन । यसमा छिटो वृद्धि हुन्छ । सुरुमा टाइम भर्सेस मनिबाट पैसा कमाएपछि सम्पत्ति लगानी गर्नुपर्छ । मनी भर्सेस मनी भएपछि ठुलो आम्दानी हुन्छ । यसको कुनै सीमा छैन । यो मेरो मान्यता हो । २४ घण्टामा आफुलाई चाहिने कमाएपछि जाने भनेको मनी भर्सेस मनी नै हो । नेपाल जस्तो ठुलो अवसर र प्रतिफल उच्च अन्य मुलुकमा छैन ।

१५ वर्षको अवधिमा यहाँ कति पुँजी निर्माण गर्न सफल हुनुभयो ?

नेपालको व्यवसाय भनेको पारिवारिक हो । शतप्रतिशत कर्पोरेट व्यवसाय एउटै छैन । बैंकमा लगानी गर्नेको अन्य कम्पनीमा ठुलो लगानी भएको छ, उसलाई थाहा छैन की कति लगानी छ भनेर । म पनि यो भन्न सक्ने अवस्थामा छैन । मेरो पनि व्यक्तिगत ब्यालेन्स सिट छ तर कम्पाइल्ड छैन । निश्चय नै मेरो लगानीको भ्यालुएड भएको छ । म बुटवल पावर कम्पनीमा थिए । त्यो कर्पोरेट थियो र मेरो आम्दानी यति हुन्छ भनेर थाहा हुन्थ्यो ।

हाइड्रो सलुसन, हाउजिङ त मेरो पारिवारिक व्यवसाय हो । त्यसैले मलाई थाहा हुदैन । व्यवसायमा सफल हुन राम्रो जग लगाउनु पर्छ । जग राम्रो भएको घर बलियो हुन्छ । मान्छेले ३० वर्षको उमेरसम्म जग मजवुत बनाइ सक्नुपर्छ । केवलकार कस्ले बनायो ? लक्ष्मण बाबुले । त्यसको संभाव्यता अध्ययन कसले गरेको ? मैले । त्यसको लाइसेन्स कोसँग थियो ? तेस्रो व्यक्तिसंग थियो । हामीले सकेनौ उनले सके र बनाए पनि । केवलकारको संभाव्यता अध्ययन मैले हेरेको हो लक्ष्मणबाबुले हैन ।

मैले १२ लाख खर्च गरेर अध्ययन गरेको हो । विदेशी परामर्शदाताबाट केवलकारको अध्ययन भएको हो । मैले आँट्न सकिन । त्यसपछि मैले बुटवल पावरमा आँटे । सबै सबैमा सफल हुदैनन् । सफललाई ट्रयाकमा राख्न सक्यो भने त्यसका हाँगाबिँगाले थप बनाउछ । इमान्दारितालाई बेचेर व्यवसाय गर्नेले म भन्दा १० गुणा बढी कमाएका छन् ।

तर तिनिहरुको कँही न कँही गएर पतन सुरु भएको हुन्छ । नाम नलिउँ विगतको उदाहरण हेरौँ न, कहाँका व्यवसायी अहिले कहाँ पुगेका छन् । जलविद्यूतमा यही छ । शतप्रतिशत इमान्दारितामा रहेर यो देशमा काम गर्न सकिन्न । इमान्दारितालाई म्याक्सिमाइज गर्नुहुन्छ भने एउटा सफलले तपाईलाई कहाँ पुर्याई दिन्छ । त्यसैले यहाँ जस्तो ठुलो अवसर अन्त कही छैन ।

नेपालका ठुला व्यवसायीक प्रतिष्ठानले आफ्नो उद्योगलाई किन सर्वसाधारणमा लैजान चाहादैनन् ?

पब्लिकमा किन जाने ? मेरो उद्योग छ २५ वर्ष अघि मैले १ सय रुपैयाँमा राखेका कम्पनी अहिले १ सय रुपैयाँमा आईपीओ निष्कासन गर्नुपर्छ भने म किन पब्लिकमा जाने ?

अहिले धितोपत्रले प्रिमियम मूल्यमा आईपीओ ल्याउन खुला गरेको छ नी, निष्कासन गर्दा के फरक पर्छ ?

२.५ गुणा भनेको छ । यसले केही पनि हुदैन । अहिले शिवम् सिमेन्टले आईपीओ निष्कासन गर्दै छ । उसले १० प्रतिशत आईपीओ निष्कासन गरेपछि फेरी ३९ प्रतिशत एफपीओ निष्कासन गर्छ । मूल्य नपाएसम्म वास्तविक क्षेत्र पुँजीबजारमा आउदैन । यहाँ उद्योगी थोरै छन्, मध्यम वर्गीय जनता धेरै छन् । त्यसैले पुँजीबजारलाई अगाडी बढाउनुपर्ने भएको छ ।

जस्तो भारतमा हेर्नुस त्यहाँको पुँजी बजारमा धेरै लगानी गएको छ । घरघरको लगानी पुँजी बजारमा गएको छ । मेरो हजार रुपैयाँ मूल्य भएको सेयर १ सय रुपैयाँमा किन बेच्ने ? त्यसैले प्रिमियम मूल्यमा सेयर निष्कासन खुला गर्नुपर्छ । तब मात्र वास्तविक क्षेत्र पुँजी बजारमा आउँछ । भारतमा १० रुपैयाँको सेयर २ सयमा बेच्नेकी १ हजारमा बेच्ने भन्ने कुरा खुला छ ।

किन्नेले म्यालुसन गरेर किन्छ । जस्तो मुकेश अम्बानीको १० रुपैयाँको सेयर १ हजार ५ सयमा हातहातीमा बिक्री हुन्छ । तब न उसले आर्थिक वृद्धि गर्न सक्छ । भारतमा काम गर्ने वातावरण छ तर यहाँ जलविद्युतमा यति झमेला छन् की दोस्रो गरौ कि नगरौ भन्ने सोच्नुपर्ने अवस्था छ । लगानीको वातावरण सुधार्नु पर्ने छ ।

अर्को महत्वपुर्ण कुरा रेमिट्यान्स घटि रहेको छ, तर रोजगारीमा जानेको संख्या बढी रहेको छ, पैसा कहाँ गयो ? भन्ने ठुलो चिन्ताको विषय बनेको छ । घुसका दुई नम्बरीका र राजनीतिक संरक्षणबाट आर्जित सम्पत्ति विदेशमा पलायन भइरहेको छ । उच्च अधिकारीले छोरालाई अमेरिका, अष्ट्रेलिया र युरोपको कुनै मुलुकमा राखेर पुँजी पलायन गरिरहेका छन् ।

यहाँ जागिर खाएका सरकारी कर्मचारी फार्म हाउस किनेर बसेका छन् । त्यहाँ लगानी गर्ने पैसा कहाँबाट आयो ? यो सरकारलाई मतलव छैन । ९ अर्ब डलरको व्यापार घाटा । जति निकासी भएको छ, त्यहाँ भ्यालुएड भएको छैन । यस्तो अवस्थामा यो देशको अर्थतन्त्र कसरी चल्छ ? अब चल्दैन । म भन्छु ७ वर्षपछि हाम्रो नियन्त्रित अर्थतन्त्रमा पुग्ने छौ । नत्र तपाईको ३ वर्ष अघि खाडीमा गएको केटोको पैसा नेपालमा आएको छैन । यो पैसा सुन किन्न चीनमा गयो, भारतमा गयो ।

२६ अर्ब डलरको अर्थतन्त्रमा १० प्रतिशत घुसको अंश छ । त्यो भनेकै ३ अर्ब डलर घुसको पैसा रहेछ । यो पैसा यहाँ राख्न मिल्दैन शुद्धिकरण लागिहाल्छ । अनी बाहिर गएको अवस्था छ । नेपालमा यो पैसा राख्न केही खुकुलो नीति हुनुपर्छ । म आज सिंङ्गापुरमा लगानी गर्न गए भने त्यहाँको सरकारले जे गरेर पैसा ल्याए पनि उसले मलाई ३ वटा घोषणा गराउछ । यो लागुऔषधको पैसा हो ? यो हतियारको पैसा हो ? यो मानव बेचविखनको पैसा हो ? भनेर सोध्छ र हैन भनेपछि लगानी गर्न दिन्छ । जहाँबाट ल्याएपनि सिङ्गापुरले लगानी स्वीकार गरेको छ ।

पछिल्लो समयमा सेयर बजारमा निरन्तर गिरावट आएको छ, यसको कारण के देख्नुहुन्छ ?

सेयर बजारको बैंकको ब्याजसँग पुरा सम्बन्ध छ । ब्याज सस्तो हुँदा सेयर बजार जहिले पनि बढ्छ । सेयर बजारलाई आवश्यक कर्जा बैंकमा उपलब्धता छैन । सेयर आपूर्ति बढेर १ हजार कित्ता सेयर हुनेको बढेर ५ हजार कित्ता पुग्यो र खर्च चलाउन बेच्न थाल्यो र बजारमा आपूर्ति बढ्दा बजार घटेको हो ।

फेरी सरकार पनि बौलाउँछ कहिले भ्याट लगाउने भन्छ कहिले कर लगाउने भन्छ यो कुरा स्पष्ट गरिदिनु पर्यो । भारतमा लगानीमैत्री वातावरण भएकाले सुनमा भएका पैसा पुँजी बजारमा आयो र सेयर सुचांक ३५ हजार नाघेको छ । भारतका प्रत्येक व्यक्तिको सेयरमा लगानी छ । तर यहाँ निरुत्साही गरिएको छ । पहिलो सरकारले पुँजी बजारमा विदेशी लगानी खुला गरिदिनु पर्यो । दोस्रो करको नीति के हो स्पष्ट भन्नु पर्यो । यो कुरा स्पष्ट भयो भने सेयर बजारमार्फत रेमिट्यान्सको पैसा बचतमा जान्छ ।

 

Share News