काठमाडौं । चौतर्फी दवावपछि ४ उद्योगले सिमेन्टको भाउ घटाएका छन् । उद्योगले बोरामा साढे २२ रुपैयाँसम्म सिमेन्टको भाउ घटेको छ । उद्योगले बोरामा १२० रुपैयाँसम्म भाउ बढाएका थिए । सोमबारसम्ममा सिवम सिमेन्ट उद्योग, अम्बे सिमेन्ट उद्योग, नारायणी सिमेन्ट उद्योग र सर्वोत्तम सिमेन्टले प्रतिबोरा सिमेन्टमा साढे २२ रुपैयाँसम्म मूल्य घटाएका हुन् ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले दिएको जानकारी अनुसार सिवम् सिमेन्टमा बोराको साढे २२ रुपैयाँ घटेको छ ।
विभागले अनुगमन गर्ने क्रममा लिएको सिमेन्टको मूल्यको आधारमा उक्त सिमेन्ट घटेर अहिले प्रतिबोरा ८८७ रुपैयाँ ५० पैसा भएको छ । अहिलेसम्म सबैभन्दा बढी सिवम् सिमेन्टको मूल्य घटेको छ ।
अम्बे सिमेन्टमा प्रतिबोरा १० रुपैयाँ घटाएको छ । घटेर उक्त सिमेन्टको मूल्य प्रतिबोरा ७५० रुपैयाँ भएको छ । त्यस्तै नारायणी र सर्वोत्तम सिमेन्टमा पनि प्रतिबोरामा १०÷१० रुपैयाँले भाउ घटेको छ ।
विभागका साखा अधिकृत रमेशकाजी श्रेष्ठले अहिले धमाधम उद्योगीहरुले सिमेन्टको भाउ घटाइरहेको बताए । अस्वभाविक भाउ बढाएको १३ सिमेन्टमा अनुगमन गरिएको उनले जानकारी दिए । ‘ती मध्ये ४ उद्योगले भाउ घटाइसकेको छ,’ उनले भने ‘बाँकी सिमेन्ट उद्योगहरुले पनि केही दिनभित्रै भाउ घटाउने हाम्रो विश्वास छ ।’
यदि भाउ नघटाउने उद्योगमाथि विभागले कार्बाहीको प्रक्रिया अघि बढाउने उनले चेतावनी दिए । पुनर्र्िनमाणको समयमा एक्कासी सिमेन्ट र रडको भाउ उद्योगी व्यवसायीहरुले बढाएपछि सरकारको चौतर्फी आलोचना भएको थियो । लगत्तै आपूर्ति मन्त्रालयको निर्देशनमा विभागले सिमेन्ट तथा डण्डीको अनुगमन गरेको थियो ।
केही हप्ताअघि गरेको विभागको अनुगमनको क्रममा अम्बे सिमेन्टमा १६.९ प्रतिशत, शालिमार ओपिससी सिमेन्टमा १६, शिवम्मा १५.२, हेटौडामा १२.९, निर्माणमा १२.५, अग्नीमा १०.५ र मारुतीमा ६.४ प्रतिशत सिमेन्टको भाउ बढेको भेटाएको थियो ।
त्यस्तै डण्डीहरुमा हामाको डण्डीमा प्रतिकिलो ८.७ प्रतिशत जगदम्बामा ७ र शाखमा प्रतिकिलो ४.७ प्रतिशत बढेको भेटिएको थियो ।विभागले १५ दिनको अबधिमा ५ पटकसम्म मूल्य बृद्धि हुदा प्रतिबोरा सिमेन्टमा ७ देखि १७ प्रतिशतसम्म भने डण्डीमा ५ देखि ९ प्रतिशत मूल्य बढेको फेला पारेको थियो ।