काठमाडौं । बैंकिङ प्रणालीमा तरलता धेरै कम भएपछि नेपाल राष्ट्र बैंकले बुधबार पुनः १० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।
केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा तरलता प्रवाह गर्न लागेको हो ।

बैंकिङ प्रणालीमा तरलता घटेर १८ अर्ब भन्दा कम भएको छ । तरलता बढाउन केन्द्रीय बैंकले थप रकम प्रवाह गर्न लागेको राष्ट्र बैंकका अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।
उनका अनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा बढी भएपछि केन्द्रीय बैंकले बजारमा थप रकम पठाएर हस्तक्षेप गर्दै आएको छ । दुई साताका लागि पठाइएको रकम बैंकले आफनो आवश्यकताअनुसार उपयोग गर्न सक्ने उनको भनाई छ ।
राष्ट्र बैंकले ५ प्रतिशत ब्याजदरमा रिपोमार्फत बुधबार पैसा बजारमा पठाउन लागेको हो । रिपोको म्याद ्फागुन २ गतेसम्म रहेको छ । आइतबार बजार हस्तक्षेप गर्न केन्द्रीय बैंकले २० अर्ब रुपैयाँ बजारमा पठाउदा ७ बैंकहरुले ८ अर्ब ४० करोड रुपैयाँ मात्र उठाएका छन् ।
एक साताअघि अन्तरबैंक ब्याजदर ३ प्रतिशत भएकोमा एक साताका बीचमा बढेर ५ प्रतिशत नाघेको छ । अल्पकालिन तरलताको समस्या समधान गर्न केन्द्रीय बैंकले दुई साताका लागि बजारमा पैसा पठाउन लागेको हो । अन्तरबैंक ब्याजदर स्थिर भएका कारण डेढ महिनादेखि राष्ट्र बैंकले रिपो जारी गर्न पाएको थिएन् ।
चालु आर्थिक वर्ष सुरु भएयता राष्ट्र बैंकले ७ पटक रिपो गरी बजारमा ५२ अर्ब ४५ करोड रुपैयाँ बजारमा पठाएको छ । यता बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७९ प्रतिशत बढी रहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८०ः२० कायम गरेको छ ।
वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् । चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।
सरकार स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक मात्र सहज अवस्थामा छ । राष्ट्रिय वाणिज्यको कर्जा, निक्षेप र प्राथमिक पुँजी (सीसीडी) अनुपात ६९.१२ प्रतिशत छ । सीसीडीअनुसार राष्ट्रिय वाणिज्यसंग अधिक लगानीयोग्य पुँजी रहेको छ ।