काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलम्बित सहसचिव चूडामणि शर्माविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको दावीसहित विशेष अदालतमा आरोपत्र दायर गरेको छ ।
अख्तियारले ४ करोड २९ लाख ५४ हजार १२४ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको ठहर गर्दे सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनको ३ करोड ६३ लाख ७२ हजार ९६१ रुपैयाँ बराबरको सम्पत्तिको मात्रै स्रोत खुलेको अख्तियारले जनाएको छ ।
शर्माले आम्दानीको ठूलो हिस्सा पुस्तक लेखन र निजामती विद्यार्थीको तयारी कक्षा प्रशिक्षणको आम्दानी भनी दाबी गरेका छन । विभागको महानिर्देशक रहँदा पक्राउ परी निलम्बनमा परेका शर्मा्विरुद्ध अख्तियारको दोस्रो आरोपत्र हो ।
गत साउन १ मा अख्तियारले शर्मासहित कर फर्स्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब २ करोड रुपैयाँ मागदाबीसहित भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीनै जनासँगको एकमुष्ट मागदाबी करिब ३० अर्ब ६ करोड रुपैयाँको गरिएको छ ।
यसका अतिरिक्त शर्माले सार्वजनिक सेवाको पदमा रहेर गैर कानूनी रुपमा आर्जन गरी, स्रोत पुष्टी हुन नसकेको सम्पत्तिहरू श्रीमती कल्पना उप्रती शर्माको नाममा राखेको तथा लुकाए/ छिपाएको देखिएको दावी अख्तियारको छ ।