काठमाडौं । वाणिज्य बैंक मध्ये सबैभन्दा सस्तो कर्जा स्ट्याण्डर्ड चाटर्ड बैंकको रहेको छ । यसअघि राष्ट्रिय वाणिज्य बैंकको सस्तो ब्याज रहेकोमा चालु आर्थिक वर्षको ६ महिनामा स्ट्याण्डर्डले उसलाई उछिनेको छ । स्ट्याण्डर्डले सोमबार सार्वजनिक गरेको चालु आवको ६ महिनाको वित्तीय विवरणमा आधार ब्याजदर ५.८० प्रतिशत मात्र रहेको जानकारी दिएको छ ।

चालु आवको पहिलो त्रैमाशमा उसको आधार ब्याजदर ६.४७ प्रतिशत थियो । ३ महिनाकोबीचमा स्ट्याडर्डको आधार ब्याजदर ०.६७ प्रतिशत घटेको छ । स्ट्याण्डर्डलाई ६ प्रतिशत ब्याजमा कर्जा प्रवाह गर्दा फाइदा हुने देखिन्छ । यस्तै राष्ट्रिय वाणिज्यको आधार ब्याजदर ५.९८ प्रतिशत छ । चालु आवको पहिलो त्रैमाशमा उसको आधार दर पनि यही नै थियो । यस्तै सस्तो ब्याजदर दिनेमा नविल बैंक रहेको छ । नविलको आधार दर ६.९२ प्रतिशत छ । त्यसपछि नेपाल बैंक रहेको छ । नेपाल बैंकको आधार दर ६.९३ प्रतिशत छ । स्ट्याण्डर्ड, राष्ट्रिय वाणिज्य नविल र नेपाल बैंकको कर्जा लिदा ब्याजदर सस्तो हुने देखिएको छ । यस्तै एभरेष्ट बैंकको ७.८४ र नेपाल इन्भेष्टमेन्ट बैंकको ९ प्रतिशत रहेको छ ।
सबैभन्दा महंगो कर्जा कृषि विकास बैंकको देखिएको छ । कृषि विकासको आधार ब्याजदर ११.५३ प्रतिशत रहेको छ । कृषि विकासबाट कर्जा लिदा ब्याजदर १२ प्रतिशत भन्दा बढी पर्छ । स्ट्याण्डर्डको भन्दा कृषि विकासबाट ऋण लिदा ब्याजदर दोब्बर महंगो हुन्छ । आधार दर ११ प्रतिशत बढी हुनेमा सिभिल बैंकको ११.५०, नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको ११.४५, सिटिजन्स बैंकको ११, कुमारी बैंकको ११.१७, जनता बैंकको ११.३५, नेपाल बंगलादेश बैंकको ११.३९ र सेन्चुरी बैंकको ११.४३ प्रतिशत रहेको छ । अधिकाँश बैंक तथा वित्तीय संस्थाले माघ १ गतेदेखि नयाँ ब्याजदर लागु गरेका छन् ।
बजारमा लगानीयोग्य पुँजीको अभाव हुन थालेपछि अधिकाँश वाणिज्य बैंकले महंगो दरमा निक्षेप उठाउदा लागत बढ्न गई यसको असर आधार ब्याजदरमा परेको हो । केही बैंकले मुद्धति निक्षेपको ब्याजदर बढाएर १३ प्रतिशत पु¥याएपछि यसको असर आधार दरमा परेको छ । नेपाल बैंकर्स एसोसियसनको पहलमा बैंकले मुद्धतिमा दिने ब्याजदर ११ प्रतिशत भन्दा नबढाउने आन्तरिक भद्र सहमति गरेका छन् । पछिल्लो समयमा बैंकले मुद्धति निक्षेपको ब्याजदर ११ प्रतिशतसम्म दिने गरी नयाँ मुद्धति योजना पनि सार्वजनिक गरेका छन् ।
अन्य वाणिज्य बैंकले मुद्दतीको ब्याजदर १३ प्रतिशत पुर्याउदा स्ट्याण्डर्ड चाटर्ड र नेपाल बैंकको १० प्रतिशत छ । अधिक तरलता भएपछि राष्ट्रिय वाणिज्य बैंकले मुद्दती निक्षेपको ब्याजदर भने बढाएन । मुद्दति निक्षेपको ब्याजदर बढाएपछि अन्य बैंकको कर्जाको ब्याजदर पनि महंगो देखिएको हो ।