काठमाडौं । काठमाडौं स्थित भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक २०१८ इन एशोसिएशनविथ मोटोरोलाको’ चौथो दिन ६० हजार २६२ जनाले अवलोकन गरेका छन् । चौथो दिनसम्ममा २ लाख १९ हजार जनाले एक्स्पो अवलोकन गरेको कम्पनीको दावी छ ।

आयोजकको अनुसार प्रदर्शनीमा बालकदेखि वृद्धसम्मको भिड लागेको छ । विगतका संस्करणहरुमा युवाहरुको प्रभुत्व रहेतापनि अहिले सबै उमेर समूहको उपस्थिति रहेको कम्पनीको भनाइ छ ।
उच्च अधिकारी तथा सेलिब्रेटीले गरे अवलोकन
आइतबार आपूर्तीमन्त्री जयन्त चन्द, सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मिप्रसाद यादव, नेपाल प्रहरीका अतिरिक्त महानिरिक्षक मिङमर लामा, प्रहरी वरिष्ठ उपरीक्षक पुर्णचन्द्र जोशी, कलाकारद्धय पल शाह र आँचल शर्माल लगायतले प्रदर्शनी अवलोकन गरेको क्यान महासंघका महासचिव रञ्जित पोदारले जनाए ।
त्यस्तै आइतबारको दिनलाई ‘बिजनेश डे’को रुपमा लिइ सो अवसरमा विभिन्न कम्पनीहरुले आफ्नो व्यापार प्रवद्र्धनकोे लागि विभिन्न डिलर र भेन्डरहरुसँग प्रत्यक्षरुपमा बिजनेश डिल गरेको जनाइएको छ । यसअन्तर्गत नेपालस्थित अधिकृत विक्रेताहरुले आफुसँग व्यापारिक सहकार्य गर्न चाहने कम्पनी वा समूहसँग व्यापारिक साझेदारी गरेका छन् ।

यस्ता छन् कम्पनीहरुका योजना
प्रदर्शनीमा केही बिक्रेता कम्पनीहरुले नयाँ उत्पादनहरु तथा योजनाहरु सार्बजनिक गरेका छन् । जसमा छुट, निःशुल्क जडान, फ्री सर्भिस, उपहार लगायतका योजनाहरु छन् । सुबिसु केबलनेटले आफ्नो ब्रान्ड प्रवद्र्धन गर्न दुई महिनासम्म क्लियर टिभी प्रिमियम प्याकेजसहित १५ र ८ ‘एमबिपीएस’ अनलिमिटेड इन्टरनेट सेवा प्रदान गरेको छ ।
त्यस्तै हाइ पावरका नेटिस राउटरको खरिदमा आकर्षक छुटका अतिरिक्त बुलगार्ड इन्टरनेट सेक्युरिटी निःशुल्क प्रदान गरिरहेको बताएको छ । हाइसेन्सका ६५ इन्चसम्मका टिभीहरुमा २० प्रतिशत छुट प्रदान गरिएको महासचिव पोदारले जानकारी दिएका छन् ।
उनका अनुसार कास्परस्काई एन्टिभाइरसको खरिदमा ३० देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । ई स्क्यान एन्टिभाइरस र इन्टरनेट सेक्युरिटीको खरिदमा ६ देखि १५ सय रुपियाँसम्म छुट एवं ६ महिनाको मोबाइल सेक्युरिटी निःशुल्क दिने बताइएको छ । डिटिसी मोबाइल खरिदमा २५ सय ‘एमएएच’को पावरबैंक निःशुल्क दिने भएको छ ।
नेपाली सफ्टवेयरमा आकर्षण
प्रर्दशनीमा स्वदेशमै बनेको सफ्टवेयरप्रति अवलोकनकर्ता झुम्मिएको छ । स्टार्टअप र विद्यार्थीले बनाएका विभिन्न आइटी र इन्जिनियरिङ प्रोडक्टहरुले अवलोकनकर्ता तथा ग्राहकहरुको ध्यान तानेको बताइएको छ ।
प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज लगायतका २ सय २२ स्टल राखिएको छ । प्रदर्शनी मंलबारसम्म सञ्चालन हुने आयोजकको भनाइ छ ।