काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले आजदेखि थप निष्कासन (एफपीओ) बिक्री खुला गरेको छ । बीपीसीले २ अर्ब ४ करोड ४५ लाख रुपैयाँ बराबरको एफपीओ ल्याएको हो ।

एफपीओको मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ तोकिएको छ । साधारण सेयरमा ४०१ रुपैयाँ प्रिमियम मूल्य थप गरेर ४० लाख ८१ हजार कित्ता एफपीओ निष्कासन भएको छ ।
एफपीओ निष्कासन बन्द छिटोमा माघ १९ गतेसम्म तोकिएको छ । एफपीओ न्युनतम १० र बढीमा २० हजार ४ सय कित्तासम्म आवेदन दिन पाउने बीपीसीले जनाएको छ ।
एफपीओ निष्कासनपछि कम्पनीको चुक्तापुँजी बढेर २ अर्ब २१ करोड ८६ लाख रुपैयाँ पुग्नेछ । बीपीसीले वार्षिक साधारणसभा अगावै निष्कासन गर्ने भएकाले एफपीओमा लगानी गर्नेले पनि गत आर्थिक वर्षमा गरेको नाफाबाट लाभांश पाउने प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । साधारणसभा बस्ने मिति तय नभएकाले लाभांश घोषणा नगरिएको उनले जानकारी दिए । लाभांश गत वर्षको भन्द नघट्ने उनको भनाई छ ।
एफपीओबाट संकलन हुने रकम निर्माणधिन ३७.६ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी आयोजनामा लगानी गर्नेछ । गत आर्थिक वर्ष ०७३र७४ मा बीपीसीले ६५ करोड रुपैयाँ खुद नाफा गरेको छ ।
चालु आवको पहिलो त्रैमाशमा बीपीसीको नाफा २३५ प्रतिशतले बढेर ७ करोड २२ लाख रुपैयाँ पुगेको छ । धितोपत्र बोर्डले उत्पादनमूलक लगायत अन्य क्षेत्रका संगठित संस्थाले पनि एफपीओ निष्कासन गर्न पाउने नीतिगत व्यवस्था गरेपछि बीपीसीले एफपीओ निष्कासन गरेको हो ।सहायक कम्पनी कावेली इनर्जी लिमिटेड र न्यादी हाइड्रोपावर लिमिटेडमार्फत निर्माण हुन लागेका २ आयोजनामा बीपीसीले २ अर्ब ३४ करोड ८५ लाख रुपैयाँ लगानी गर्नेछ ।
यी दुई आयोजनामा हालसम्म ९५ करोड ३६ लाख रुपैयाँ लगानी भैसकेको छ । १ अर्ब ३९ करोड ५० लाख रुपैयाँ लगानी गर्न बाँकी छ । बीपीसीले कायम रहेको चुक्तापुँजी २ अर्ब १० करोड रुपैयाँबाट बढाएर २ अर्ब २२ करोड पुयाउने तयारी छ ।
बीपीसीले ४ मेगावटको खुदी, ९ मेगावाटको आँधिखोला र १२ मेगावाटको झिम्रुक आयोजना सञ्चालन गरिरहेको छ । आउँदो ४ वर्षमा बीपीसीको जडित क्षमता ९५ मेगावाट पुग्नेछ । आउदो ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले चीनका ३ कम्पनीसंग लगानी सम्झौता गरेको छ । यसका लागि एससीआईजी इन्टरनेसनल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालि नेपालमा स्थापना भइसकेको छ । एससीआईजीमार्फत चीनियाँ कम्पनीले खर्ब रुपैयाँ नेपाल भित्राउने छन् ।
कम्पनीमा सरकार, युनाइटेड मिसन टु नेपाल, एनआईडीसी डेभलपमेन्ट बैंक र नेपाल विद्युत प्राधिकरणको गरी १३ प्रतिशत, सांग्रिला इनर्जी लिमिटेड र आईकेएन नेपाल एसको ७५ र सर्वसाधारण र कर्मचारीको गरी १२ प्रतिशत स्वामित्व छ । आउदो ३ वर्षमा बीपीसीले नाफा बढाएर ६७ करोड ६१ लाख ९६ हजार रुपैयाँ पुर्याउने प्रक्षेपण गरेको छ ।