काठमाडौं । निक्षेपको लागत बढ्पछि कैलाश विकास बैंकको नाफामा असर परेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले २२ लाख रुपैयाँ मात्र खुदनाफा बढाएको छ ।

बैंकले गत पुससम्म २६ करोड ६० लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवको सोही अवधिमा बैंकले २६ करोड ३८ लाख रुपैयाँ गरेको थियो ।
निक्षेप लगात बढेर ब्याज आम्दानीमा कमी आएपछि नाफा बढ्न नसकेको बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
बैंकको खराब कर्जा घटेर ०.५६, निक्षेप लागत ८.५५, सीडी रेसियो ७८.१४, आधार ब्याजदर ११.६६, स्प्रेड दर ४.८ प्रतिशत छ । बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप परिचालन बढेर १९ अर्ब ११ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा बैंकको निक्षेप १५ अर्ब ९१ करोड रुपैयाँ थियो । कर्जा लगानी पनि बढेर १७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ ।
गत आवको सोही अवधिमा बैंकको कर्जा लगानी १४ अर्ब ३२ करोड रुपैयाँ थियो । बैंकको संचित कोष बढेर ८० करोड ११ लाख रुपैयाँ पुगेको छ । यस्तै चुक्तापुँजी २ अर्ब ५२ करोड रुपैयाँ रहेको बैंकले जनाएको छ ।