काठमाडौं । नेपाल विद्युत प्राधिकरणले औद्योगिक क्षेत्रमा दैनिक ३ घण्टा मात्र विद्युतभार कटौती (लोडसेडिङ) भएको जानकारी दिएको छ । उद्योगीले दैनिक ६ घण्टा लामो समय लोडसेडिङका कारण महंगोमा डिजेल जेनेरटर चलाउदा उत्पादन लागत महंगो भई सिमेन्टको भाउ बढेको बताइरहेका बेला विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङको कारण सिमेन्टको मूल्य नबढेको स्पष्टपारेका छन् ।

प्राधिकरणले बिहीबार राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कार्यकारी निर्देशक घिसिङले भने “उद्योग क्षेत्रमा ३ घण्टा मात्र लोडसेडिङ भएको छ, यसका कारणले सिमेन्टको मूल्य बढेको हैन अन्य कारणले बढेको होला ।”
सिमेन्टको भाउ बढ्नुमा लोडसेडिङको कुनै भूमिका नभएको उनको दावी छ । उनले साँझ साढे ५ देखि राती साढे ८ बजेसम्म मात्र उद्योगमा लोडसेडिङ गरेको स्पष्टपारे । उनले भरपर्दो वितरण प्रणाली नहुदा बिजुली आपूर्तिमा केही कहिलेकाही अवधरोध हुने गरेको जानकारी दिए ।
यता उद्योगीले लोडसेडिङका कारण सिमेन्टको लागत बढेको जिकिर गरिरहेका बेला कुलमानको यस्तो प्रतिक्रिया आएको हो । नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाले सिमेन्टको भाउ बढ्नुमा अहिले पनि उद्योगमा दैनिक ६ घण्टा लोडसेडिङ मुल कारण भएको बताएका छन् ।
विकास न्युजसंग कुरा गर्दै थापाले भने “विद्युतको गुणस्तर छैन । बिजुली आएको बेलामा पनि पावर घटबढ भईरन्छ । दिनमा ४, ५ पटक बत्ती जान्छ । यसले गर्दा उद्योगले धेरै नोक्सान बेहोर्नु परेको छ ।”
“जब नियमित बिजुली आउँछ, सिमेन्ट उद्योगले गुणस्तरीय बिजुली पाउन थाल्छ, तब मूल्य पनि घट्छ” उनले भने ।