काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो थप ६ वटा नयाँ शाखा विस्तार गरेको छ । बैंकले बिहीबार मात्रै संखुवाशभाको मकालु गाउँपालिका, रामेछापको गोकुलगंगा गाउँपालिका, सिन्धुलीको गोलन्जर गाउँपालिका, बाराको आदर्श कोटवाल गाउँपालिका, बाजुराको बुढीगंगा नगरपालिका र पर्साको बहुदुरमाई नगरपालिकामा एकै साथ नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
यी शाखाहरु मार्फत नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकको निर्णय बमोजिम स्थानीय सरकारको सम्पूर्ण खाता कारोवारको संचालन हुनेछ । त्यस्तै, यी शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै सर्वसाधारण तथा उद्यमीले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन् ।
साथै, यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशिलताको वृद्धि जस्ता आर्थिक गतिविधि बढ्ने विश्वास बैंकले लिएको छ । बैंकले निकट भविष्यमा नै बैंकिङ्ग पुहँच नपुगेका अन्य ४ गाउँपालिका तथा नगरपालिकामा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ ।
हालै सञ्चालनमा आएका शाखाहरु सहित बैंकले देशभर ३ एक्स्टेन्सन् काउन्टर, ९२ वटा शाखा, १०५ एटीएम, ९९ शाखारहित बैंकिङ्ग सेवा र ६५० भन्दा बढी पीओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ । आर्थिक वर्ष २०७४/०७५ को पौष मसान्तसम्म बैंकले कुल ८५ अर्ब ५७ करोड रुपैयाँ निक्षेप र ७६ अर्ब ९५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।