बैंकहरु पुगे सीसीडी रेसियोको डिलमा, कर्जा दिन नसक्ने

<p>काठमाडौं । वाणिज्य बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७८ प्रतिशत बढी रहेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८०ः२० कायम गरेको छ । वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक वित्तीय विवरणमा कर्जा, निक्षेप र पुँजी अनुपात (सीसीडी) रेसियो ७८ प्रतिशत बढी रहेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको सीसीडी रेसियो ८०ः२० कायम गरेको छ ।

वित्तीय विवरणमा सीसीडी रेसियो कसिलो अवस्थामा पुगेपछि अधिकांश बैंकले थप कर्जा लगानी गर्न छाडेका छन् । चालु आवको पुससम्मको वित्तीय विवरण सार्वजनिक गर्ने ७ बैंकहरुको सीसीडी रेसियो ८० नजिक पुगेकाले थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेका छन् ।

नेपाल बंगलादेश बैंकको सीसीडी रेसियो ७९.१३ प्रतिशत पुगेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको वित्तीय विवरणमा थप कर्जा लगानी गर्न नसक्ने अवस्थामा पुगेको देखाएको छ । यस्तै नेपाल एसबीआई बैंकको ७७.३, मेगा बैंकको ७९.३७, लक्ष्मी बैंकको ७७.९३, सिटिजन्स बैंकको ७७.४, सानिमा बैंकको ७८.९९ र सिद्धार्थ बैंकको ७८.३३ प्रतिशत सीसीडी रेसियो पुगेको छ । निक्षेप नबढाइ थप कर्जा लगानी गरेमा वा ठुलो निक्षेप बाहिरिएमा बैंकको सीसीडी रेसियो ८० प्रतिशत नाघ्ने देखिएको छ । सबै बैंकले अहिले सीसीडी रेसियोको डिलमा पुगेको वित्तीय प्रतिवेदनले देखाएको छ । राष्ट्रिय वाणिज्य बैंक र नेपाल बैंकसंग पर्याप्त तरलता रहेको छ ।

बैंकले थप लगानी गर्ने अवस्था नरहेको नेपाल बैंकर्स एसोसियसनका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुङ्गाना बताउछन् । “निक्षेप नबढाइ कर्जा लगानी गर्न नसक्ने अवस्थामा बैंक पुगेका छन्” उनले भने । विस्तारै निक्षेप पनि बढ्दै गएकाले लगानीयोग्य पुँजीको समस्या हट्दै जाने संकेत देखिएको उनी बताउँछन् ।

यस्तै, माछापुच्छ्रे बैंकका सीईओ निरजकुमार श्रेष्ठ पनि कर्जा लगानी गर्न नसकेको बताउछन् । निक्षेप परिचालन नबढेकाले थप कर्जा लगानी गर्न नसकिएको उनको भनाई छ । बैंकले लगानी गर्न नसकेको सानिमाका सीईओ भुवनकुमार दाहाल बताउछन् । सीसीडी रेसियोको डिलमा रहेको उनको भनाई छ । बजारमा कर्जाको माग अत्याधिक रहेकाले माग अनुसार दिन नसकेको दाहालको भनाई छ ।

एक महिनाको अवधिमा बैंकहरुले ९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ४२ अर्ब रुपैयाँ लगानी गरेका छन् । यस्तै, अन्तर बैंक ब्याजदर बढेर ४.७ प्रतिशत पुगेको छ । एक साताअघि ३ प्रतिशतको हाराहारीमा रहेको अन्तर बैंक ब्याजदर बढेको छ । अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा तल भएपछि राष्ट्र बैंकले डेढ महिनादेखि रिपोमार्फत बजारमा पैसा पठाउन पाएको छैन ।

बैंकमा लगानीयोग्य पुँजीको अभाव भएपछि यसको असर सेयर बजारमा परेको छ । बैंकबाट ऋण लिएर ठुलो परिमाणमा सेयर किन्ने समूह चर्को ब्याजदरका कारण बजारबाट बाहिरिएको लगानीकर्ताको भनाई छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ५ महिनाको आर्थिक परिदृष्यमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी १६.१ प्रतिशतले विस्तार भएको छ । निक्षप परिचालन १२.७ प्रतिशतले मात्र बढेको छ । निक्षेपको तुलनामा बैंक तथा वित्तीय संस्थाले ३.४ प्रतिशत कर्जा लगानी बढाएको राष्ट्र बैंकले जनाएको छ ।

बैंकिङ प्रणालीमा तरलता कम भएपछि राष्ट्र बैंकले आज बिहीबार ५ अर्ब रुपैयाँ बजारमा पठाउदै छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थासंग भएको विकास ऋणपत्र धितो लिएर बजारमा थप पैसा पठाउन लागेको हो । बैंकिङ प्रणालीमा तरलता घटेर २२ अर्ब रुपैयाँमा झरेपछि बिहीबार पैसा पठाउन लागेको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बजारमा पठाउने पैसा बैंकको तरलता व्यवस्थापनलाई मात्र हो । यसलाई निक्षेपको रुपमा गणना गरेर कर्जा लगानी गर्न पाइँदैन । यसअघि राष्ट्र बैंकले ३ पटक गरेर ३५ अर्ब रुपैयाँ बजारमा पठाएको थियो । बैंक तथा वित्तीय संस्थाले २८ अर्ब रुपैयाँ मात्र लिएका थिए ।

 

 

Share News