काठमाडौं । सबैभन्दा बढी बिजुली चोरी बाराको कलैयामा हुने गरेको पाइएको छ । कलैयामा कुल आपूर्तिको ५४.३८ प्रतिशत बिजुली चोरी हुने गरेको नेपाल विद्युत प्राधिकरणले तयार पारेको नयाँ चुहावट प्रतिवेदनले देखाएको छ ।

सबैभन्दा कम बिजुली चोरी काठमाडौको रत्नपार्क वितरण केन्द्रमा देखिएको छ । रत्नपार्क वितरण केन्द्रमा बिजुली चुहावट १.२२ प्रतिशत मात्र छ । कलैया वितरण केन्द्रमा सबैभन्दा बढी चोरी देखिएको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । प्राधिकरणले चोरी र चुहावट नियन्त्रणको अभियान थालेको उनले जानकारी दिए । अधिकारीका अनुसार यो तथ्यांक मंसिरसम्मको हो ।
उद्योग भएका क्षेत्रमा बढी बिजुली चोरी हुने गरेको प्राधिकरणले जनाएको छ । तराईमा सडक बत्ति दिउसो बलिरहने, हुक लगाएर चोरी हुने गरेको छ । यस्तै रौतहटको गरुडामा कुल आपूर्तिको ४७.८३ र सोही जिल्लाको चन्द्रनिगाहपुरमा ४७.२६ प्रतिशत चोरी हुने गरेको पाइएको छ । बढी बिजुली चुहावट हुनेमा तुल्सीपुर वितरण केन्द्रमा ३९.३४, रंगेली वितरण केन्द्रमा ३७.७८, सिन्धुपाल्चोकमा ३३.९०, अछाममा ३२.५०, काभ्रेमा ३२.३३, इलाममा २८.१५, गुलरियामा २६.६६, बेल्बारीमा २४.२५, दमकमा २१.१ र अनारमुनीमा २१.७५ प्रतिशत, महेन्द्रनगरमा २०.३० र प्युठान वितरण केन्द्रमा २०.५४ प्रतिशत चुहावट हुने गरेको छ ।
कलैया वितरण केन्द्रमा कुल ३ करोड ५५ लाख २५ हजार युनिट बिजुली आपूर्ति भएकोमा १ करोड ९३ लाख १९ हजार रुपैयाँ युनिट बिजुली चुहावट भएको छ । यस्तै गरुडा वितरण केन्द्रमा कुल ३ करोड २२ लाख ४५ हजार युनिट बिजुली आपूर्ति भएकोमा १ करोड ५४ लाख २४ हजार युनिट बिजुली चुहावट भएको छ । यस्तै चन्द्रनिगाहपुर वितरण केन्द्रमा १ करोड २३ लाख ६४ हजार आपूर्ति भएकोमा ५८ लाख ४३ हजार युनिट युनिट चुहावट भएको छ ।
तुल्सीपुर वितरण केन्द्रमा १ करोड २९ लाख १७ हजार युनिट आपूर्ति भएकोमा ५० लाख ८५ हजार युनिट चुहावट भएको छ । अछाम वितरण केन्द्रमा कुल १ करोड ३६ लाख ६२ हजार युनिट बिजुली आपूर्ति भएकोमा ३६ लाख ९२ हजार युनिट चोरी भएको छ । रंगेली वितरण केन्द्रमा १ करोड २६ लाख ३६ हजार युनिट बिजुली आपूर्ति भएकोमा ४७ लाख ७३ हजार युनिट चुहावट भएको छ ।

काभ्रे वितरण केन्द्रमा २ करोड ९६ लाख ५४ हजार युनिट आपूर्ति भएकोमा ९५ लाख ८६ हजार युनिट बिजुली चुहावट भएको छ । सिन्धु वितरण केन्द्रमा ७० लाख १२ हजार युनिट बिजुली आपूर्ति भएकोमा २३ लाख ७७ हजार युनिट चुहावट भएको छ ।
राजधानीमा सबैभन्दा कम चुहावट भएको छ । काठमाडौंमा औसत ८ प्रतिशत मात्र चुहावट हुने गरेको छ । राजधानीको रत्नपार्क वितरण केन्द्रमा १ करोड १६ लाख ४९ हजार युनिट बिजुली आपूर्ति भएकोमा १४ लाख २० हजार युनिट मात्र चुहावट भएको छ ।
क्षेत्रगत रुपमा हेर्दा विराटनगर क्षेत्रिय कार्यलयमा १४.६५, जनकपुरमा ३४.३६, हेटौडामा १३.९१, काठमाडौमा ८, पोखरामा ११.५३, बुटवलमा १४.१४, नेपालगञ्जमा १५.४० र अत्तरियामा १५.२९ प्रतिशत चुहावट हुने गरेको प्राधिकरणले जनाएको छ ।
विद्युत प्राधिकरणले गत मंसिरसम्म कुल २ अर्ब ७० करोड ४४ लाख ६७ हजार युनिट बिजुली आपूर्ति गरेकोमा ४० करोड युनिट चुहावट भएको छ । यो कुल आपूर्तिको १४.८० प्रतिशत हो ।
गत असारसम्म बिजुली चुहावट २२.९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा घटाएर २० प्रतिशतमा झार्ने विद्युत प्राधिकरणको योजना छ । आउँदो ३ वर्षभित्र बिजुली प्रणालीमा हुने चुहावट घटाएर १५ प्रतिशत कायम गर्ने प्राधिकरणको योजना छ ।
वितरण प्रणालीमा हाल भइरहेको चुहावट १६.८२ प्रतिशतबाट घटाएर १३.८ प्रतिशतमा झार्ने प्राधिकरणको योजना छ । चुहावटका कारणले गर्दा मात्रै विद्युत प्राधिकरणले वार्षिक ५ अर्ब रुपैयाँ बढी नोक्सान व्यहोर्दै आएको छ ।