काठमाडौं । आगामी एक महिनाभित्रै धरहराको ग्लोबल टेण्डर निस्कने भएको छ । धरहरा निर्माणको जिम्मेवारी पाएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले आगामी एक महिनाभित्रै धरहराको निर्माणको टेण्डर आव्हान गर्ने तयारी अन्तिम चरणमा पुर्याएको हो । ‘डिजाइन अन्तिम चरणमा पुगेको छ, एक महिनाभित्रै ग्लोबल टेण्डर आव्हान गर्छाै’, प्राधिकरणको सम्पदा संरक्षण महाशाखाका प्रमुख राजुमान मानन्धरले विकासन्युजसँग भने ।

धरहराको निर्माण लागत करिब ३ अर्ब हुने प्रक्षेपण गरिएको छ । आगामी २ बर्षभित्र धरहराको निर्माण सम्पन्न गर्ने लक्ष्य प्राधिकरणले लिएको छ ।
नेपाल टेलिकमले धरहरा निर्माण प्रक्रियाबाट हात झिक्ने निर्णय गरेसँगै सरकारले प्राधिकरणलाई जिम्मेवारी दिएको थियो । प्राधिकरणले पुरातत्व विभागको अगुवाईमा तयार पारेको डिजाइन तयार गरिरहेको छ ।
नयाँ धरहरामा टक्सार जमिन नपर्ने
पुरानो धहराको ६ रोपनी, सुन्धाराको १० रोपनी र गोश्वारा हुलाकको १२ रोपनी गरि २८ रोपनीमा निर्माण हुनेछ । टक्सार विभागको १२ रोपनी जमिन भने धरहरामा नसमेटिने भएको हो । अण्डर ग्राउण्ड २ तलासहित धरहरा ६९.२ मिटर उचाईको हुनेछ । त्यसमाथी ३६ फिटको गुम्बज निर्माण गरिनेछ ।

११ तल्ले धरहराको बिच भागमा लिफ्ट रहनेछ । धरहराको वरिपरि कुनै पनि प्रकार ठुला व्यवसायीक संरचना निर्माण गरिने छैन् । सुुन्धारा क्षेत्रलाई पुननिर्माण गरेर संरक्षण गरिनेछ । धरहरा आपसापसमा सामान्य कफि सप, लाईब्रेरी जस्ता व्यवसाय भने सञ्चालन हुनेछन् ।
ढलेको धरहरा काँचको पर्दामा
प्राधिकरणले भूकम्पका कारण ढलेको धरहरालाई काँचको पर्दाले छोपेर राख्ने योजना बनाएको छ । त्यसमा सर्वसाधारणले भित्रै प्रवेश गरेर हेर्न भने सक्नेछन् ।
मैँ बनाउँछु धरहरालाई ९ करोड
तत्कालिन केपी ओली सरकारले सुरु गरेको मैँ बनाउँछु धरहरा अभियानमा हालसम्म ९ करोड रुपैयाँ संकलन भएको छ । त्यस बाहेक नेपाल टेलिकमले पुर्व प्रतिवद्धता अनुसार उपलब्ध गराउने एक अर्ब रुपैंयाँ पनि धरहरा निर्माणमा खर्च गरिनेछ ।