काठमाडौं । केही समयअघि देखि निरन्तर ओरालो लागेको सेयर बजार बुधबार भने सामान्य अंकले उकालो लागेको छ । सो दिनको नेप्से परिसूचक १.६९ अंकले उकालो लागेर १३९४.७३ अंकमा पुगेको छ ।
बुधबारको परिसूचकमा केही सुधार आएता पनि सेयर कारोबारमा भने गिरावट भएको छ । मंगलबार ३२ करोडको कारोबार भएको बजारमा बुधबार भने जम्मा २६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बुधबार सबैभन्दा बढी नेपाल फाइनान्सको ३ करोड ५४ लाख रुपैयाँ बराबरको प्रमोटर सेयर बिक्री भएका छन् ।
सामान्य वृद्धि भएको बुधबारको बजारमा एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् । सो दिन यस इन्स्योरेन्सका लगानीकर्ताले ५.६४ प्रतिशत कमाएका छन् । बुधबार यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६४९ रुपैयाँ रहेको छ, जुन अघिल्लो दिनको तुलनामा ८८ रुपैयाँ बढी हो ।
उता हिमालयन डिष्टिलरीको सेयर मूल्य भने ५.८० प्रतिशतले घटेको छ ।
बजारमा उत्पादनमूलक, माइक्रोफाइनान्स र फाइनान्स समूहको परिसूचक ओरालो लागेका छन् भने बाँकी सबै समूहको सूचक उकालो लागेका छन् । बीमा र होटल समूहको परिसूचक क्रमशः १६ र १४ अंकले उकालो लागेका छन् ।