काठमाडौं । बाणिज्य बैंकहरुले सरकारी ढुकुटीमा रहेको पैसा निक्षेपका रुपमा नपाउने भएका छन् । लगानी योग्य पुँजी अभावको तत्कालिन समाधानका रुपमा सरकारको बिभिन्न कोषको रकम बाणिज्य बैंकहरुलाई दिन सकिने वा नसकिनेबारे अर्थमन्त्रालयले छलफल चलाएको थियो । ‘सरकारी कोषको केहि रकम बाणिज्य बैंकलाई निक्षेपका रुपमा दिन मिल्छ की मिल्दैन भनेर अध्ययन गरिरहेका छौं, अध्ययन सकिँदासम्म लगानी योग्य पुँजीको अभाव पनि हट्न सक्छ’, अर्थमन्त्रालयका एक सहसचिवले भने ।
उनका अनुसार बाणिज्य बैंकलाई सरकारी कोषको रकम निक्षेपका रुपमा दिने वा नदिने भन्नेबारे प्रारम्भिक अध्ययन मात्रै भएको हो । सरकारी ढुकुटीको पैसा बैंकहरुलाई उपलब्ध गराउन विद्यमान कानुनले नदिने अवस्था रहेको पनि उनले बताए । ‘हामीले सरकारी कोष पनि चलायमान हुनुपर्छ भन्ने मान्यता अघि सारेका छौं, यहि बेलामा वित्तिय क्षेत्रले कोषको पैसा माग्यो, हामीले के हुन सक्छ भनेर बुझ्न मात्रै थालेका थियौं, यहाँ त पाइन्छ रे भनेर हल्ला नै हुन थाल्यो, विद्यमान कानुनले त्यस्तो गर्न दिँदैन’, ति अधिकारीले भने ।
उता, राष्ट्र बैंकका कार्यकारी निर्देशक नर बहादुर थापाले भने सरकारी कोषको पैसा बाणिज्य बैंकहरुलाई निक्षेपका रुपमा दिन नसकिने स्पष्ट पारे । वित्तिय क्षेत्रले निक्षेप संकलन गरेर कर्जा प्रवाह गर्नु भएकाले सोही अनुसार आफ्नो काम गर्न बैंकहरुलाई सुझाव पनि दिएका छन् । बैंकहरुले निक्षेप संकलनको तुलनामा कर्जा लगानी धेरै मात्रामा बढाएकाले लगानी योग्य पुँजीको अभाव भएको पनि बताए । ‘निक्षेप संकलन भन्दा धेरै कर्जा लगानी गर्ने अनि सरकारी कोषको पैसा चाहियो भन्ने यस्तो पनि हुन्छ ?’, कार्यकारी निर्देशक थापाले भने ।
उता, राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले पनि निक्षेप बढाउन नसके कर्जा लगानी पनि नगर्न बैंकरहरुलाई निर्देशन दिँदै आएका छन् । उनले निक्षेपको वृद्धि दर भन्दा धेरै कर्जा लगानी गरेर बैंकहरुले निउँ खोजेको भन्दै कडा कदम चाल्ने चेतावनी समेत दिएका थिए । बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले भने सरकारी कोषहरुमा जम्मा भएको केहि रकमलाई निक्षेपका रुपमा उपलब्ध गराएर सरकारले लगानी योग्य पुँजी अभावको तत्कालिन समाधान दिनुपर्नेमै जोड दिए ।
‘सरकारी कोषमा रहेको केहि रकमलाई निक्षेपका रुपमा बैंकहरुलाई उपलब्ध गराएर यो समस्याको समाधान गर्न सकिन्छ भन्ने सुझाव दिएका छौं, त्यसो गर्दा हामीले पनि बिजनेश पाउँछौं र सरकारको आम्दानी पनि बढ्छ’, नेपाल बंगलादेश बैंकका सिइओ समेत रहेको बैंकर्स संघका अध्यक्ष ढुंगानाले विकासन्युजसँग भने ।