काठमाडौं । सोमबारको सेयर बजारमा तीब्र उतारचढाव आएको छ । बजार खुलेको करिब आधा घण्टामा बढेर १४०५ अंकमा पुगेको परिसूचक फेरि १२ः१३ मा घटेर १४०१ अंकमा पुगेको थियो । त्यस्तै, त्यसपछिको एक घण्टामा पुन बढेर सो दिनकै अधिकतम बिन्दु १४०७ अंकमा पुगेको थियो । त्यसपछिको कारोबारमा भने नेप्से परिसूचक निरन्तर ओरालो लागेको छ । समग्रमा सोमबारको नेप्से परिसूचक सामान्य ०.५८ अंकले ओरालो लागेर १४०२ अंकमा पुगको छ ।

त्यस्तै, अघिल्लो दिनको तुलनामा सोमबारको कारोबार रकममा पनि ओरालो लागेको छ । दिनभरको बजारमा १६३ कम्पनीको ३६ करोड ६४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । जुन आइतबारको तुलनामा १४ करोड रुपैयाँ घटी हो ।
बजारमा सबैभन्दा बढी बीमा समूहको परिसूचक १८ अंकले ओरालो लागेको छ । त्यस्तै, माइक्रोफाइनान्स समूह १३ अंकले घटेको छ । हाइड्रोपावर समूहको परिसूचक २३ अंकले उकालो लागेको छ ।
सोमबार सबैभन्दा बढी सानिमा माइ हाइड्रोपावरको ५ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सो दिन कामना सेवा विकास बैंकका लगानीकर्ताले ७ प्रतिशत कमाएका छन् भने सबैभन्दा बढी बेष्ट फाइनान्सका लगानीकर्ताले ४ प्रतिशत गुमाएका छन् ।