काठमाडौं । उपभोक्ताले सहयोग गरेपछि यो वर्ष बिजुलीको माग प्रक्षेपण गरिएको भन्दा कम भएको छ । नेपाल विद्युत प्राधिकरणले यो वर्षको सुख्खायाममा बिजुलीको माग बढेर १ हजार ५ सय मेगावाट पुग्ने अनुमान गरेको थियो ।
हालसम्म बिजुलीको माग साँझ (पिकआवर) मा १ हजार २४१ मेगावाट मात्र भएको छ । लक्ष्य भन्दा २५९ मेगावाट बिजुली माग कम भएको हो ।
अघिल्ला वर्षको जस्तै यो वर्ष उपभोक्ताले सहयोग गरेका कारण बिजुलीको माग कम हुन गई व्यवस्थापनमा सहयोग पुगेको विद्युत प्राधिकरणका प्रवत्ता प्रवल अधिकारी बताउछन् ।
उपभोक्ताले पिकआवरमा हिटर, राइसकुकुर, आइरन, एसिलगायत बढी बिजुली खपत गर्ने उपकरण प्रयोग नगर्दा माग घटेको उनको भनाई छ । “उपभोक्ताले सहयोग गर्दा मुलुक लोडसेडिङ मुक्त भएको छ” उनले भने । हालसम्म पिक आवरमा २७० मेगावाट अपुग भएको उनले बताए । प्राधिकरण, निजी क्षेत्रका आयोजना र भारतबाट समेत गरी ९७० मेगावाट बिजुली आपूर्ति भइरहेको छ । भारतबाट मात्रै ४७६ मेगावाट बिजुली आयात भइरहेको छ । यो वर्षको लोडसेडिङ कम गर्न विद्युत प्राधिकरणले भारतबाट ४८० मेगावाटसम्म बिजुली आयातको लक्ष्य लिएको छ ।
यसैगरी विद्युत प्राधिकरणका आयोजनाबाट ३०९, निजी क्षेत्रबाट १८६ मेगावाट बिजुली आपूर्ति भइरहेको छ । झण्डै आधा हिस्सा भारतबाट आयाति बिजुलीले थेगेको छ । फागुनसम्म उत्पादन अझै घट्ने प्राधिकरणले जनाएको छ । फागुनदेखि तापक्रम बढ्ने भएकाले तराईमा बिजुलीको माग बढ्न सक्ने अधिकारीको भनाई छ । गर्मि बढेर पंखा चल्दा त्यहाँ बिजुलीको माग बढ्ने छ । तराई क्षेत्रमा बढी बिजुली चोरी हुने गरेको छ ।
यो वर्ष १३८ मेगावाट बिजुली थपिदै
चालु आर्थिक वर्षमा सार्वजनिक र निजी क्षेत्रबाट गरी १३८ मेगावाट मात्र बिजुली थप हुने भएको छ । विद्युत प्राधिरकरण र निजी क्षेत्रको लगानीमा १७ आयोजना सम्पन्न भइ यो परिमाणमा बिजुली थप हुने भएको हो । यो वर्षदेखि नेपालको जडित क्षमता बढेर १ हजार १ सय मेगावाट नाघने भएको छ ।
विद्युत प्राधिकरणले यो वर्ष सार्वजनिक र निजी क्षेत्रबाट गरी साढे २ सय मेगावाट बिजुली थप हुने अनुमान गरेको थियो । बिजुली उत्पादन लक्ष्य भन्दा ११२ मेगावाट कम हुने भएको छ । चालु आवमा निजी क्षेत्रबाट २०५ र विद्युत प्राधिकरणबाट ४५ मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
प्राधिकरणले प्रगतिका आधारमा यो वर्ष आउने संभावना भएको आयोजनाको संशोधित अनुमान सुची तयार पारेको छ । सो सुचिअनुसार लक्ष्य भन्दा कम बिजुली थप हुने देखिएको हो । यो वर्ष विद्युत प्राधिकरणबाट ३० मेगावाटको चमेलिया र १४ मेगावाटको कुलेखानी तेस्रो गरी ४४ मेगावाट बिजुली थप हुने अनुमान गरिएको थियो । यो वर्ष चमेलिया मात्र सम्पन्न भएको छ ।
चमेलियाबाट परीक्षणको रुपमा बिजुली उत्पादन भइरहेको छ । औपचारिक रुपमा बिजुली उत्पादन माघदेखि हुने प्राधिकरणले जनाएको छ । कुलेखानी तेस्रो आयोजना अझै अनिश्चित बनेको छ । हालसम्म निजी क्षेत्रका ९ आयोजना सम्पन्न भई प्रणालीमा ४२ मेगावाट थप भइसकको छ । हालसम्म सम्पन्न हुने आयोजनामा द्रोणाञ्चल हाइड्रोपावर कम्पनीको ६ सय किलोवाटको ढुङेजिरी, गज्र्याङ उपत्यका हाइड्रोपावरको २.८ मेगावाटको छ्याकेखोला, दिब्यश्वरी हाइड्रोपावर लिमिटेडको ४ मेगावाटको सभाखोला, पुवाखोला १ हाइड्रोपावरको ४ मेगावाटको पुवाखोला १ आयोजना रहेका छन् ।
सम्पन्न भएका अन्य आयोजनामा मन्दाकिनी हाइड्रोपावरको ४ मेगावाटको सार्दिखोला, सिवानी हाइड्रोपावर कम्पनीकोे ४ मेगावाटको फावाखोला, माइभ्याली हाइड्रोपावरले ५ मेगावाटको माइ सी आयोजना, माउन्ट कैलाश इनर्जीको १३.६ मेगावाटको थापाखोला र युनियन हाइड्रोपावरले ३ मेगावाटको मिदिम करापु आयोजना हुन् ।
यस्तै यो वर्षभित्र ७ वटा जलविद्युत आयोजना सम्पन्न हुने भएका छन् । यो वर्षभित्र सम्पन्न हुने अवस्थामा रहेका आयोजनामा बराही हाइड्रोपावरले १.५ मेगावाटको थेउलेखोला, मोलुङ हाइड्रोपावरले ७ मेगावाटको मोलुङखोला, हिमाल दोलखा हाइड्रोपावरले ८ मेगावाटको माई साना क्यासकेड, अपि पावर कम्पनीले ८ मेगावाटको माथिल्लो नौगाड छन् ।
यस्तै विन्दवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ८.८ मेगावाटको रुदीखोला ए, सिकलेस हाइड्रोपावरले १३ मेगावाटको मद्क्युखोला र मनाङ ट्रेडलिंकले २० मेगावाटको तल्लोमोदी सम्पन्न हुने चरणमा रहेका छन् ।