काठमाडौं । २०७३ साल पुस मसान्तसम्ममा पहिलो किस्ता रकम लिएका भूकम्प पीडितहरुले दोश्रो किस्ताका लागि निवेदन दिने म्याद सकिएको छ । प्राधिकरणको निर्देशक समितिले २०७३ पुस मसान्तअघि निजी आवास निर्माणका लागि पहिलो किस्ता रकम बुझेका भूकम्प पीडितले २०७४ पुस भित्रै दोश्रो किस्ता रकमका लागि निवेदन दिईसक्नुपर्ने निर्णय गरेको थियो ।
‘पहिलो किस्ता लिएर घर बनाउने काम गरुन भन्नका लागि समय सिमा तोकिएको थियो, पहिलो किस्ता लिएर चुप लागेर बस्नेहरुलाई कुरेर बस्ने अवस्था छैन’, पुननिर्माण प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेले भने । हालसम्म ७ लाख ६७ हजार ७ सय ५ परिवार भूकम्प पीडितहरु लाभग्राहीको सूचिमा परेका छन । तीमध्ये ६ लाख ६८ हजार ९६ परिवारसँग अनुदान सम्झौता गरिएको छ । ६ लख ६६ हजार ९ सय ७७ परिवारले पहिलो किस्ताको रकम लिईसकेका छन् ।
१ लाख २९ हजार ६ सय ६८ परिवारले दोश्रो किस्ता लिएका छन भने ३१ हजार ५ सय ३५ परिवारले तेश्रो किस्ता समेत लिएका छन् । एक लाख ८६ हजार ४ सय २९ परिवारले दोश्रो किस्ता भुक्तानीका लागि आवेदन दिएका छन् । एक लाख ७१ हजार ४ सय ४८ परिवार भने दोश्रो किस्ता भुक्तानीका लागि प्रमाणिकरणमा परेका छन् । हालसम्म ८३ हजार ७ सय ७० भूकम्प पीडित परिवारले मात्रै नयाँ घर निर्माण सम्पन्न गरेका छन् । २ लाख २४ हजार ६ सय ७ परिवारले भने यतिबेला धमाधम घर निर्माण गरिरहेका छन् ।
अब के हुन्छ ?
प्राधिकरणका सूचना अधिकारी मनोहर घिमिरेका अनुसार २०७३ पुस मसान्त अघि नै पहिलो किस्ता लिएका पीडितहरुले अब के कारणले दोश्रो किस्ताका लागि आवेदन निदएको हो भन्ने कारण खुलाएर स्थानीय तहमा निवेदन दिन सक्नेछन् । तर उनीहरुले दिएको निवेदनको सुनुवाई भने हुन्छ वा हुन्न अझै एकिन भएको छैन् । ‘तोकिएको अवधी भित्र दोश्रो किस्ताका लागि आवेदन नदिएकाहरुले कारण खुलाई स्थानीय तहमा निवेदन दिन सक्नेछन् तर प्रधानमन्त्री नेतृत्वको निर्देशक समितिले निर्णय गरेकाले सुनुवाईका लागि पनि फेरी सोही तहको निर्णय हुनुपर्छ’, घिमिरेले भने ।