काठमाडौं । खर्च बढी, व्यापार कम हुँदा नयाँ जीवन बीमा कम्पनी सकस बेहोरिरहेका छन् । नयाँ ९ वटा जीवन बीमा कम्पनी थपिएपछि पुराना ९ वटा कम्पनीहरु आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् ।

तर, पुराना कम्पनीको जस्तो बोनस दर घोषणा गर्न पनि नपाएका, मानिसहरुलाई आकर्षित गर्ने बीमा पोलिसी ल्याउन पनि नसकेका, भरर्खरै सञ्जाल विस्तार र प्रणालीगत विकासमा काम गर्दै गरेका नयाँ बीमा कम्पनीहरुले प्रतिस्पर्धा कठिन भएको महसुश गरेका छन् ।
ठूलो पुँजी, खर्चिला कर्मचारी, प्रतिष्पर्धात्मक बजारका बीच व्यवसाय बढाउँनै पर्ने बाध्यताका कारण नयाँ जीवन बीमा कम्पनीका सिइओहरु दबावमा परेका हुन् । धेरै बीमा कम्पनीहरुले खर्च कटौति गर्ने उपायको रुपमा प्रमुख कार्यकारी अधिकृत नियुक्त नै गरेका छैनन् भने एक कम्पनीका कामु प्रमुख कार्यकारी अधिकृतले राजीनामा दिएका छन् । स्रोतका अनुसार आईएमई लाइफमा कामु प्रमुख कार्यकारी अधिकृतको हैसियतमा काम गर्दै आएका राकेश पोखरेलले कम्पनीको चुनौति थेग्न नसकेर पदबाट राजीनामा दिएका छन् ।
यसै आर्थिक वर्षमा सञ्चालनमा आएका आईएमई लाइफ, युनियन लाईफ, ज्योति लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायवल लाइफ, सिटिजन लाइफ र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीका उच्च व्यवस्थापन समूह चर्को दवाममा रहेर काम गरिरहेको जानकारहरुले बताएका छन् ।
‘नयाँ जीवन बीमा कम्पनीका सिइओहरु व्यवसाय वृद्धि र सञ्चालकहरुको महत्वकांक्षाका कारण चिन्तित देखिनुहुन्छ, उहाँहरुले साह्रै दबाव झेल्नु परेको कुरा हामीसँग गरिरहनु भएको छ’, बीमा समिति स्रोेतले भन्यो ।
नयाँ कम्पनीका एक जना सिइओका अनुसार कम्पनीलाई नाफा घाटा बराबर (ब्रेक इभन)मा लैजान ३० देखि ३५ हजार पोलिसी बेच्नु पर्छ । तर अहिले नै सो मात्रामा पोलिसी बेच्न सकिने अवस्था छैन् ।
अधिकांश नयाँ कम्पनीले पुराना कम्पनीबाट कर्मचारी तानेका छन् । त्यसरी ल्याईएका कर्मचारीलाई न्युनतम एक तह बढुवा पनि गरिएको छ र तलब पनि पुरानोमा भन्दा बढी दिइएको छ । तर उनीहरुले तलब र पद अनुसारको जिम्मेवारी पूरा गर्न नसकिरहेको ठम्याई बीमा समितिले गरेको छ ।
‘पुराना कम्पनीका कर्मचारीलाई बढी तलब र माथिल्लो पद दिएर ल्याएका छन्, तर उनीहरुले सो अनुसार काम गर्न नसकिरहेको देखिन्छ, यसले पनि कम्पनी व्यवस्थापन तनावमा परेको छ’ स्रोतले भन्यो । निर्जीवन बीमा कम्पनीका काम गरि अनुभव हासिल गरेको र जीवन बीमा कम्पनी प्रवेश गरेका कर्मचारीहरुले पनि काम गर्न कठिन भएको महसुस गरेको छन् ।
नयाँ कम्पनीहरुको लागि पूर्वाधार निर्माण गर्न, शाखा, अभिकर्ताहरुको नेटवर्क निर्माण गर्न, प्रणालीगत विकास गर्न केही समय लाग्ने भएकोले तत्काल नयाँ कम्पनीले अधिक बीमा गराउन नसक्ने बताउँछन् यूनिय लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्ण । ‘बजार ठूलो छ, यो वर्ष मात्र बजार ५० प्रतिशतले विस्तार हुन सक्छ । नयाँ कम्पनीको लागि पनि बजार प्रशस्त छ’ उनले भने–‘बीमा गर्नको लागि आवश्यक सबै प्रकारको पूर्वाधार निर्माण गर्न पनि नयाँ कम्पनीहरुको लागि केही समय लाग्छ ।’
नयाँ कम्पनीहरुको लागि आकर्षक बीमा पोलिसीहरुको विकास गर्नु पनि ठूलो चुनौति रहेको जानकारहरु बताउँछन् । बजारमा भईरहेको र पुराना कम्पनीहरुले बेचिरहेका प्रकृतिको बीमा पोलिसी बिक्री गर्न नयाँ बीमा कम्पनीहरुको लागि कठिन छन् । फरक र आकर्षक बीमा पोलिसी बनाएर ल्याउन सकिरहेका छैनन् ।
नयाँ कम्पनीले सञ्चालनमा आएको एक वर्षपछि मात्र नाफाको आधारमा बोनस दर घोषणा गर्न पाउने छन् । पुराना कम्पनीले पोलिसीका विभिन्न विशेषताको साथै आकर्षक बोनस दर अपिल गरिरहेका हुन्छन् । नयाँ कम्पनीका लागि यो सम्भव भएको छैन । ‘सामाजिक सुरक्षा र बचतको नाराले मात्र बीमा गराउन सकिदैन, व्यवसायिक लाभको अपिल पनि गर्नैपर्छ’ एक बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृतले नाम नखोल्ने सर्तमा भने–नयाँ कम्पनीहरुले सामाजिक सुरक्षा र अनिवार्य बचतको प्रस्ताव गर्न सक्छन्, तर व्यवसायिक लाभको प्रस्ताव गर्न सक्दैनन् । नयाँ बीमा कम्पनीको लागि यो ठूलो चुनौति हो ।
नयाँ बीमा कम्पनीहरुको नाफा तत्कालका लागि बढ्नुको साटो घट्ने देखिएको छ । नयाँ जीवन बीमा कम्पनीहरुले २ अर्ब चुक्ता पुँजीमध्ये ७० प्रतिशत अर्थात एक अर्ब ४० करोड रुपैंयाँ बुझाउनुपर्ने थियो । सो रकममध्ये एक अर्ब २० करोड रुपैंयाँ बाणिज्य बैंकमा मुद्दति निक्षेपका रुपमा राखेर बीमा समितिलाई एयरमार्क गर्नुपर्ने थियो । बाँकी रहेको २० करोड भने चालु खातामा राखेर कार्यालय सञ्चालनमा उपयोग गर्न पाइने व्यवस्था छ ।
मुद्दति खातामा राखेको पैसाले राम्रो व्याज पाएकाले शुरुका त्रैमासिक वित्तीय विवरणमा नयाँ कम्पनीले नाफा गरेको देखिए पनि यो नाफा क्रमशः घट्दै जाने देखिएको छ । कम्पनीका शाखा, कर्मचारी वृद्धिसँगै सञ्चालन खर्च बढेको तुलनामा व्यापार विस्तार गर्न नसक्ने कम्पनीहरु नोक्सानमा जाने जोखिम रहेको जानकारहरु बताउँछन् ।