काठमाडौं । विगतदेखि नै लागु हुने भनिएको पेट्रोलियम ट्याङ्करको लकिङ प्रणाली अागामी माघ महिनादेखि कार्यान्वयनमा ल्याइने भएको छ । बुधबार निगमको ४८ औं वार्षिकोत्सव मनाउने क्रममा निगमका प्रवत्ता विरेन्द्र गोईतले मागदेखि पेट्रोलियम ट्याङकरमा लकिङ सिस्टम जडान गरी कार्यान्वयनमा ल्याउने बताए । ‘मागभित्र पेट्रोलियम ट्यांकरहरुमा लकिङ सिस्टम सुरु हुनेछ,’ उनले भने ‘सर्वप्रथम झापाको चारलीबाट ट्याङकरको लकिङ गर्न सुरु गरिनेछ ।’

निगमले केही महिना अघिदेखि नै भारतबाट ट्याङ्करमा ल्याउने गरेको इन्धनको परिमाण नपुगेको, बाटामै तेल चोरि हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न तथा पेट्रोलियम ढुवानीलाई गुणस्तरीय र पार्दशी बनाउन उक्त ट्याङ्करमा लकिङ प्रणाली जडान गर्ने बताएको थियो ।
त्यस्तै निगमको निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले कम्पनीले अहिले करिब एक हजार ८ सय ट्याङकर ट्रकहरुलाई करारमा लिएर सञ्चालन गरिरहेको बताए । ‘त्यसमध्ये नयाँ भित्र्याइएको ४/५ सय ट्याङ्करमा उक्त प्रणाली जडान भइसकेको छ,’ उनले भने ‘बाँकी ट्याङ्करहरुमा पनि जडान गर्ने कार्य भइरहेको छ ।’ उनका अनुसार उक्त लकिङ प्रणालीले एकपटक मापन गरिसकेको पेट्रोलियम पदार्थलाई ‘क्लोज लुक’मा लकिङ गरिने गरिन्छ ।