काठमाडौं । सम्भावित प्रधानमन्त्रीका रुपमा हेरिएका एमाले अध्यक्ष केपी ओलीले रसुवागढी नाका पुगेर चिनियाँ रेल यहिँबाट नेपाल आउँछ भनिदिए । ओलीकै अगुवाईमा केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्गको अध्ययनका लागि चिनसँग सम्झौता भैसकेको छ । यस बाहेक काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको सम्भाव्यता अध्ययनका लागि आव्हान गरिएको ग्लोबल टेण्डरबाट ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरिसकिएको छ । र ती कम्पनीमध्येबाट पनि सम्भाव्यता अध्ययनका लागि अन्तिम छनौट तत्कालै अघि बढ्दैछ ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा अघि बढाइएको मेची महाकाली रेल मार्गको ६१९ किलोमिटर डिपिआर तयार भएको छ । रेल विभागले गत नोभेम्बर २० तारिखका दिनसम्ममा ६१९ किलोमिटर क्षेत्रको डिपिआर तयार पारेको हो । यसरी केरुङबाट काठमाडौं आउने रेलले नेपाललाई चीनसहित रसिया र पुर्वी युरोपको बजारसम्म जोड्नेछ । त्यस्तै झापाको काकडभिट्टामा आउने रेलले मध्यपुर्व एसियासँग जोड्नेछ । कञ्चनपुरको गड्डाचौकीबाट भारत जाने रेलले नेपाललाई पश्चिम युरोपसम्म जोड्नेछ । ‘केरुङबाट नेपाल आउने रेल र पुर्वपश्चिम रेल वे नेटवर्क दिर्घकालिन समृद्धिसँग जोडिएको छ, यसले नेपाललाई विश्व बजारमा जोड्छ’, रेल विभागका सिनियर डिभिजनल इञ्जिनियर प्रकाशभक्त उपाध्यायले भने ।
उपाध्यायका अनुसार पुर्वी नाका काकडभिट्टादेखि वुटवलसम्मको डिपिआर तयार भएको छ भने वुटवलदेखि पश्चिमी नाका गड्डा चौकीसम्मको ४२१ किलोमिटर रेलमार्गको डिपिआर निर्माण धमाधम अघि बढेको छ । ‘वुटवलदेखि पुर्व तर्फको डिपिआर तयार भैसकेको छ, अब वुटवलदेखि गड्डा चौकीसम्मको डिपिआर पनि एक बर्षभित्रै तयार पर्ने गरि धमाधम काम भैरहेको छ’, उपाध्यायले भने ।
विभागले बर्दिबासदेखि काकडभिट्टा खण्डको २४७ किलोमिटरको डिपिआर तयार पारेको छ । त्यस्तै, बर्दिबास–सिमरा–तम्सारिया–बुटवल खण्डको ३७२ किलोमिटर डिपिआर पनि तयार भैसकेको छ । सोही खण्डको बर्दिबास–लालबन्दीको ३० किलोमिटरमा ट्रयाक बेड,पुल पुलेसा निर्माणको काम सम्पन्न भैसकेको छ । लालबन्दीदेखि सिमरासम्मको ७८ किलोमिटरको काम पनि चालु आर्थिक बर्षमा सुरु भएको छ ।
क्रस बोर्डर रेल वे नेटवर्क
भारत सरकारको सहयोगमा जयनगर–जनकपुर– बर्दिवास ६९ किलोमिटरमध्ये जयनगर–जनकपुर बिजुलपुराको ५२ किलोमिटरमा ट्रयाक बेड तथा स्ट्रक्चरको काम सम्पन्न भैसकेको छ । सो खण्डमा अब रेलको डब्बा राखेर गुडाउन सकिने अवस्था निर्माण भैसकेको छ । त्यस्तै, बिजुलपुरा–बर्दिबासको १७ किलोमिटर क्षेत्रमा जग्गा अधिग्रहणको प्रक्रिया पनि अघि बढेको छ । कटहरी–विराटनगर–बथनाहाको १८ किलोमिटरको पनि ट्रयाक बेड तथा स्ट्रकचरको काम धेरै अघि बढिसकेको छ ।
मध्यपश्चिमको नेपालगञ्जदेखि भारतको नेपालगञ्ज रोडसम्मको १५ किलोमिटर रेल मार्ग, भैरहवादेखि नौतन्वासम्मको १२ किलोमिटर र न्यु जलपाइगुडीदेखि काकडभिट्टासम्मको रेल वे नेटवर्क निर्माणको काम पनि अघि बढेको छ ।
कति लाग्छ लागत ?
तराईमा निर्माण हुने रेलमार्गका औषत लागत प्रति किलोमिटर ४० करोड लाग्छ । पहाडमा पुलमा बनाईने रेलमार्गको निर्माण लागत तराईको भन्दा तीन गुणा बढि अर्थात करिब १ अर्ब २० करोड पर्ने अनुमान गरिएको छ । त्यस्तै, सुरुङ मार्फत निर्माण हुने रेलमार्गको लागत पुलको भन्दा तीन गुणा बढि अर्थात प्रति किलोमिटर ३ अर्ब ६० करोडसम्म पर्छ ।
बामपन्थी रेल सपना
सरकार गठनको तयारीमा रहेको बामपन्थी गठबन्धनले निर्वाचन पुर्व आगामी पाँच बर्षमा २३४५ किलोमिटर विद्युतिय रेलमार्ग बनाउने प्रतिवद्धता व्यक्त गरेको थियो । अब बामपन्थीहरुले नै आगामी पाँच बर्षसम्म सत्ता सञ्चालन गर्ने देखिन्छ । बामपन्थीहरुले पाँच बर्षभित्र रसुवागढी–काठमाडौं–बिरगञ्ज रेलमार्ग, पुर्वपश्चिम रेलमार्ग र मध्यपहाडी लोकमार्गमा तिब्रगतिको विद्युतिय रेलमार्ग निर्माण गर्ने बताएका छन् । ‘आगामी ५ बर्षमा पुर्व पश्चिम राजमार्ग, पुर्व पश्चिम औद्योगीक करिडोर राजमार्ग, मध्यपहाडी लोकमार्गहरुका समानान्तरमा तिब्र गतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ । त्यसै गरि यसै अवधीमा रसुवागढी–काठमाडौं–बिरगञ्जमा तिब्रगतिको विद्युतिय रेलमार्ग सञ्चालन गरिनेछ’, बामपन्थी घोषणा पत्रमा भनिएको छ । यो सबै रेलको लम्बाई करिब २३४५ किलोमिटर हुन आउँछ ।
हाल धमाधम काम भैरहेको पुर्वपश्चिम रेलमार्गको लम्बाई ९४५ किलोमिटर रहेको छ । पुष्पलाल मध्यपहाडी लोकमार्गको लम्बार्ई १७७६ किलोमिटर छ । यसमा रेल मार्ग निर्माण गर्दा करिब १२०० किलोमिरटको हुन सक्ने रेल विभागका सिडिई प्रकाशभक्त उपाध्यायले बताए । रसुवागढी–काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्गको लम्बाई २०० किलोमिटर हुने पनि उनले बताए ।
के के सम्भव छ पाँच बर्षमा ?
रेल विभागका सिडिई उपाध्यायका अनुसार आगामी पाँच बर्षमा पुर्व पश्चिम रेलमार्गको केहि खण्डमा रेल सञ्चालन गर्न सकिन्छ । रसुवागढी–काठमाडौं रेलमार्गको डिपिआर तयार भएर निर्माण कार्य समेत केहि अघि बढिसकेको हुनेछ । काठमाडौं–बिरगञ्ज विद्युतिय रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न ६ वटा कम्पनीलाई प्रारम्भिक छनौट गरिसकिएको छ । आगामी पाँच बर्षभित्र यसको पनि डिपिआर तयार भएर निर्माण कार्य अघि बढिसकेको हुनेछ ।
९४५ किलोमिटर पुर्व पश्चिम रेलमार्ग सञ्चालनका अलवा भारतीय नाकासम्म पुग्ने रेलमार्ग पनि आगामाी पाँच बर्षभित्र निर्माण गरेर सञ्चालन गर्न सम्भव तर त्यसका लागि सरकार लगानी भने जुटाउनुपर्नेछ । ‘बामपन्थीहरुको रेल सपना अलि महत्वकांक्षी छ तर दृढ इच्छाशक्ति राखेर काम गर्ने भने हो पाँच बर्षमा धेरै गर्न सकिन्छ’, उपाध्यायले भने । फास्ट ट्रयाकमा काम गर्ने हो भने आगामी पाँच बर्षमा उपत्यकामा मेट्रो रेलको निर्माण पनि निकै अघि बढिसक्नेछ ।