काठमाडौं । विभिन्न ३ कम्पनीले ९४ करोड ३ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएका छन् ।
नेपाल धितोपत्र बोर्डले एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड, फष्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड र कामना सेवा विकास बैंकलाई ९४ लाख ३ हजार कित्ता सेयर निष्काशन गर्न अनुमति दिएको हो । चुक्तापुँजी बढाउन कम्पनीले हकप्रद निष्कासन गर्न लागेका हुन् ।
एसियन लाइफलाई ५० प्रतिशत(अर्थात २ः१ को अनुपातमा) हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले ४० करोड २७ लाख रुपैयाँ बराबरको ४० लाख २७ हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।
त्यस्तै, फष्ट माइक्रोफाइनान्सले पनि ५० प्रतिशत अर्थात २२ करोड ८१ लाख रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । संस्थाले २२ लाख ८१ हजार कित्ता सेयर निष्कासन गर्ने भएको छ । संस्थाको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड छ ।
कामना सेवा विकास बैंकले चुक्तापुँजी वृद्धि गर्न १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको छ । बैंकले एनएमबी क्यापिटल मार्फत ३० करोड ९४ लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न बोर्डको अनुमति पाएको छ ।
यस्तै सिनर्जी फाइनान्स लिमिटेडले चुक्तापुँजी बढाउन ११ करोड ८६ लाख रुपैयाँ बराबरको ११ लाख ८६ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ ।
चालु आर्थिक वर्ष सुरु भएयता २९ कम्पनीले १७ अर्ब १३ करोड रुपैयाँ बराबरका हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएका छन् । यी सबै कम्पनीले आफ्नो चुक्ता पुँजी वृद्धि गर्नको लागि हकप्रद सेयर जारी गर्ने प्रक्रिया अघि बढाएका हुन् ।