काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै नेपाल राष्ट्र बैंकले आज सोमबार २ अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ ।केन्द्रीय बैंकले दुई साताका लागि निक्षेप संकल वित्तीय औजारमार्फत बोलकबोलबाट पैसा उठाउन लागेको हो ।

न्युनतम ब्याजदर ३ प्रतिशत तोकिएको छ । बजारमा तरलताको अवस्था सहज बन्दै गएको अनुमानका आधारमा सोमबार परीक्षणका लागि निक्षेप संकलन गर्न लागेको हो । यो रकम माघ ८ गते फिर्ता हुने छ । राष्ट्र बैंकले सरकारको विकास ऋणपत्र सिधै खरिद गर्ने उपकरणमार्फत बजारमा पैसा पठाएपछि आइतबारसम्म तरलता बढेर ५१ अर्ब रुपैयाँ पुगेको छ ।
तरलता नभएर लगानी गर्न नपाएपछि राष्ट्र बैंकले ४ पटक गरेर २७ अर्ब ६३ करोड रुपैयाँ बजारमा पठाएको थियो । आइतबार बैंकहरुले ब्याजदर करिडोरको सीमा नाघेर ३ प्रतिशत भन्दा तल ब्याजदर प्रस्ताव गरेपछि राष्ट्र बैंकले आज बजारबाट पैसा तान्न लागेको हो ।
आइतबार १० अर्ब रुपैयाँ बजारमा पठाउने राष्ट्र बैंकले तयारी गरेपनि ६ अर्ब ५३ करोड २७ लाख रुपैयाँ माग भएको थियो । अधिकाँश बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत भन्दा कम दर प्रस्ताव गरेपछि २ अर्ब ६३ करोड २७ लाख रुपैयाँ मात्र बजारमा पठाएको हो । राष्ट्र बैंकले गत वर्ष पनि यस्तै समस्या आएपछि सिधै विकास ऋण खरिद उपकरणमार्फत ८ अर्ब ७५ करोड रुपैयाँ बैकिङ प्रणालीमा पठाएको थियो ।
बजारमा लगानीयोग्य पुँजीको अभाव भएको बैंकहरुले बताइरहदा राष्ट्र बैंकले रिपो जारी गर्न पाएको छैन् ।अन्तर बैंक ब्याजदर ३ प्रतिशत भन्दा तल झरेको छ । यस कारण राष्ट्र बैंकले रिपो निष्कासन गर्न नपाएको हो । अन्तर बैंक ब्याजदर ५ प्रतिशतबाट माथि गएपछि केन्द्रीय बैंकले रिपो वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाएर हस्तक्षेप गर्छ । अन्तर बैंक ब्याजदर नबढेकाले बजारमा अधिक तरलता रहेको राष्ट्र बैंकको भनाई छ ।
सरकारले खर्च गर्न नसक्दा ढुकुटीमा ३ खर्ब २८ अर्ब रुपैयाँ वचतमा छ । यो महिना सरकारले कुल राजश्व लक्ष्यको ४० प्रतिशत उठाउदै छ । अर्बौ रुपैयाँ करको रुपमा ढुकुटीमा थपिदै छ ।